मानव सभ्यताको विभिन्न काल खण्डमा मधेश प्रदेश वैज्ञानिक चिन्तनको महत्त्वपूर्ण केन्द्र रहेको - मुख्य मन्त्री सिंह
3 महीना पहिले प्रकाशित
काठमाडौं, २७ भदौ ।
मधेश प्रदेशका मुख्यमन्त्री एवम् राजर्षिजनक विश्वविद्यालयका सहकुलपति सतिश कुमार सिँहले मानव सभ्यताको विभिन्न काल खण्डमा मधेश प्रदेश धार्मिक तथा आध्यात्मिक, सामाजिक तथा साँस्कृतिक एवम् वैज्ञानिक चिन्तनको महत्त्वपूर्ण केन्द्र रहँदैआएको बताएका छन् ।
राजर्षिजनक विश्वविद्यालयको आठौँसभामा बोल्दै मुख्यमन्त्री सिँहले विद्यार्थीलाई सर्वगुण सम्पन्न बनाई तिनलाई भविष्यका असल नागरिकका रूपमा तयार गर्ने अतीतको वैभवपूर्ण, समृद्धशाली र गौरवयुक्त परम्पराको एउटा कडी राजर्षिजनक विश्वविद्यालय बन्नुपर्ने उल्लेख गरे ।
उनले मधेश प्रदेशको राजधानी जनकपुरधाम प्राचीन मिथिलाको राजधानी पनि भएको भन्दै मिथिलाको ज्ञानपरम्पराबाट सम्पूर्ण पूर्वीय दर्शन, साहित्य र जीवनशैली प्रभावित रहँदै आएको स्मरण गरे ।
विदेहराज जनक, याज्ञवल्क्य, अष्टावक्र, मैथिली अर्थात् सीता, गार्गी, मैत्रेयीजस्ता विद्वानविदुषीहरूको तपोभूमि मधेशको भूगोलमा राजर्षिजनक विश्वविद्यालय स्थापित भएको थप्दै मुख्यमन्त्री सिँहले सो विश्वविद्यालयले सामान्य एकेडमिक शिक्षामात्र विनिमय नगरेर आत्मअनुशासन, विनम्रता र आध्यात्मिक चिन्तन तथा वृत्तिविकासका लागि पनि एउटा सशक्त र दुरगामी प्रभावको मार्ग कोर्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘मलाई विश्वास छ, तपाईँहामी मिलेर यो विश्वविद्यालयलाई एउटा यस्तो शैक्षिक केन्द्रका रूपमा विकास गर्नेछौँ, जहाँ चरित्र संरक्षणसँगै पढाइ समाप्तिपछि पनि विद्यार्थीमा सम्मान र कृतज्ञताको बोध रहिरहन्छ ।’
मुख्यमन्त्री सिँहले व्यक्तिमा सीपइलम विकसित गरेर आत्मनिर्भर बनाउने शिक्षापद्धतिको विकास गर्नुपर्नेमा जोड दिँदै योग्य, सक्षम र प्रतिस्पर्धी जनशक्ति निर्माण गर्नैपर्ने चुनौतीको सामना गर्न विश्वविद्यालयले आधुनिक शिक्षाका लागि परिस्कृत तथा जीवनोपयोगी पाठ्यक्रम र व्यवहारिक तथा कुशल सिकाइका लागि आवश्यक साधनस्रोतको व्यवस्थापनमा पनि ध्यान दिन जरुरी रहेको औंल्याए ।
उनले आफूहरू समयको त्यो दौरमा भएको जहाँ विस्तारै काम गर्ने छुट वा सुविधा नभएकाले हरेक कामलाई तीव्रता र तत्परतासँग गर्नुपर्ने बताउँदै विश्वविद्यालयले गर्नुपर्ने कार्यलाई सूची र समयबद्ध गरेर कार्यान्वयन गर्न सुझाए ।
नीतिगत, प्रशासनिक र संरचनात्मक विकासका पाटामा गम्भीरतापूर्वक ख्याल गरेमा विश्वविद्यालयका लागि आवश्यक काम गर्ने रूपरेखा तयार हुनेछ प्रस्ट्याउँदै उनले राजर्षिजनक विश्वविद्यालयलाई सिंगो देशकै लागि एउटा आदर्श शैक्षिक केन्द्र निर्माण गर्र्नु पर्ने बताए ।
बैठकको उद्घाटन प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले गरेका थिए ।
बैठकमा विश्वविद्यालयको आर्थिक, कार्यकारी परिषद् सदस्यमा भएको नियुक्ति अनुमोदन, शैक्षिक कार्यक्रम अनुमोदन, शैक्षिक कार्यक्रम सञ्चालन स्वीकृति अनुमोदन, सीप प्रमाणीकरण र छोटो अवधिको कार्यक्रम सञ्चालन, आंगीक क्याम्पस अनुमोदन, विश्वविद्यालय रणनीतिक योजनालगायतका प्रस्तावमाथि छलफल भएको जनाइएको छ ।