सुन्दर पर्यावरणका लागि लाटोकोसेरो (उल्लु) तथा हुचिल (मुहदुसा) संरक्षण उत्सव हुने
2 महीना पहिले प्रकाशित

जनकपुरधाम
सुन्दर पर्यावरण निर्माणमा लाटोकोसेरो (उल्लु) तथा हुचिल (मुहदुसा)को महत्वपूर्ण भूमिका रहेको हुनाले संरक्षण गर्नुपर्ने अभिप्रायका साथमा प्राकृतिक संरक्षण सम्वर्द्धनमा लागेको संस्थाहरुको अगुवाईमा लाटोकोसेरो (उल्लु) तथा हुचिल (मुहदुसा) उत्सव २०८१ घोषणा गरेका छन।
यही माघ २५ र २६ गते (फरवरी ७- ८) विभिन्न कार्यक्रम गरी उत्सवको १२ औँ संस्करण धनुषाको मिथिला बिहारी नगरपालिका २ र ३ मा मनाउन लागिएको र उत्सवमा निःशुल्क प्रवेश रहने मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष तथा आयोजक मूल समिति संयोजक देवनारायण मण्डलले राष्ट्रिय आवाज लाई जानकारी गराएका हुन ।
उत्सवको पूर्वतयारीअनुरूप स्थानीय विभिन्न विद्यालयहरूमा लाटोकोसेरो संरक्षण सम्बन्धी जनचेतना जगाउने खालका शिविरहरू सञ्चालन भइरहेको जनाउँदै आयोजकले उत्सवको दिन चरा तथा प्रकृति अवलोकन, स्थानीय लोपोन्मुख खेलहरू तथा सांस्कृतिक गीत तथा नाच प्रदर्शनी र वनविज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरूको लाटोकोसेरो संरक्षणसम्बन्धी नाच र नाटक प्रदर्शन गरिने जनाएको छ ।
यसैगरी, नगरपालिकास्तरीय चित्रकला, निबन्ध तथा कविता प्रतियोगितासमेतको आयोजनारहने तथा सो अवधिमा लाटोकोसेरो तथा हुचिलको अस्थायी संग्रहालय निर्माण तथा प्रदर्शनी हुने बताइएको छ । दुई दिनसम्म चल्ने उत्सवमा लाटोकोसेरोसम्बन्धी जानकारी तथा फोटो प्रदर्शनी, गहुँको छ्वाली, चुरा, ढुंगा, स्टिलको पाता, लप्सीको दाना, काठ र माटोबाट बनाइएका लाटोकोसेरो समेत प्रदर्शन गरिनेछ ।
उत्सवमा आठ किसिमका लाटोकोसेरोको आवाज सुन्ने र भिडियो हेर्नेसमेत व्यवस्था हुने आयोजकले जनाएको छ । कार्यक्रममा एक फिट अग्लो लाटोकोसेरोको रोबोट प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
सन् २०१२ देखि नेपालमा यो उत्सव मनाउन थालिएको हो । मिथिला वाइल्ड लाइफ ट्रस्ट र ‘प्रकृतिका साथीहरू’को आयोजनामा मनाउन लागिएको सो उत्सवले ठुला स्तनधारी वन्यजन्तुकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेको लाटोकोसेरो र हुचिलको संरक्षणमा टेवा पुग्ने प्रकृतिका साथीहरूका कार्यकारी निर्देशक राजु आचार्यले बताए ।
औषधि र झारफुकको नाममा अन्धविश्वास र भ्रम सिर्जना गरेर तस्करहरूले लाटोकोसेरोको अवैध व्यापार गर्छन् । तर, लाटोकोसेरोको कुनै पनि अंगको औषधीय उपयोग र अदृश्य तान्त्रिक शक्तिबारे वैज्ञानिक आधार छैन, उनले भने, प्रकृतिका साथीहरू नामक संस्थाले नेपालको ४६ वटा जिल्लामा १६ वर्षअघि गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा दुई हजार वटासम्म लाटोकोसेरो तथा हुचिलहरू मारिने तथा विभिन्न मुलुकमा अवैध रूपमा पठाइने गरेको भेटिएको थियो ।
लाटोकोसेरोले मुसाहरुको संख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले यसलाई किसानको वास्तविक साथी मानिन्छ । यिनको एक परिवारले (भाले, पोथी र बच्चाहरु) एक सिजनमा २ देखि ३ हजार वटासम्म मुसाहरु खाने गर्छन् । मुसाबाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको संख्या पनि नियन्त्रण गर्दछन् । पर्यावरणलाई सन्तुलित राख्न पनि यिनको मुख्य भूमिका रहेको पाइन्छ।लाटोकोसेरोको बारेमा विज्ञान सम्मत जानकारीको अभावमा अभावमा यसलाई मार्ने तथा तस्करी हुने भएकाले संरक्षणका लागि कार्यक्रम गर्न लागेको कार्यकारी निर्देशक आचार्य
ले बताए ।