जनकपुरधाममा ‘पांगासियस माछा उत्पादन तालिम’ सुरु — गुणस्तरीय भुरा उत्पादनमा आत्मनिर्भरता लक्ष्य
1 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज
जनकपुरधाम, जेष्ठ १६ गते
नेपालको माछा उत्पादन क्षेत्रका लागि महत्वपूर्ण मानिएको पांगासियस (Pangasius) माछाको उच्च गुणस्तरीय बीउ (भुरा) उत्पादनमा आत्मनिर्भरता हासिल गर्न जनकपुरधाममा सात दिने विशेष तालिम सुरु भएको छ।
तालिम केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रको आयोजनामा तथा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO) को प्राविधिक तथा आर्थिक सहयोगमा सुरु भएको हो। तालिमको उद्घाटन समारोह शुक्रबार जनकपुरधाममा सम्पन्न भएको हो।
कार्यक्रम केन्द्रीय केन्द्रकी प्रमुख सरिता गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो भने पशु सेवा विभागका महानिर्देशक राम नन्दन तिवारी प्रमुख अतिथि थिए।
*पांगास माछा कृषकको आय वृद्धिको नयाँ सम्भावना"
प्रमुख अतिथि तिवारीले पांगास माछालाई नेपालको कृषि प्रणालीमा नयाँ सम्भावना भएको उल्लेख गर्दै भने, “नेपालमा यसको व्यावसायिक उत्पादन सम्भव भइसकेको छ। यस्ता तालिमहरू बाट गुणस्तरीय बीउको सुनिश्चितता गर्न सकिने छ, जसले कृषकलाई प्रत्यक्ष फाइदा पुर्याउँछ।”उनले मत्स्य क्षेत्रलाई सरकारले प्राथमिकता दिन थालेको उल्लेख गर्दै नीति निर्माणदेखि बजार विस्तार सम्म सबै तहमा सहकार्यको आवश्यकता औंल्याए।
*प्रविधि हस्तान्तरणमा जोड
FAO का कार्यक्रम विशेषज्ञ अर्जुन सिंह थापाले तालिमको उद्देश्यबारे स्पष्ट पार्दै भने, “नेपालमा माछाको बीउ आयातमा निर्भरता कम गर्दै स्थानीय उत्पादनमा बढावा दिनु आवश्यक छ। यो तालिम त्यही दिशातर्फको ठोस कदम हो।”
*२० सहभागी, देशभर बाट प्रतिनिधित्व
तालिममा देशभरबाट छानिएका २० जना ह्याचरी सञ्चालक किसानहरूको सहभागिता रहेको छ। एक हप्तासम्म चल्ने तालिममा पांगास माछाको प्रजनन प्रविधि, बीउ व्यवस्थापन, पोषण, जलाशय व्यवस्थापन तथा बजारिकरण लगायतका विषयमा विशेषज्ञहरूले प्रशिक्षण दिनेछन्।
कार्यक्रममा पशुपन्छी तथा मत्स्य निर्देशनालय जनकपुरधामका प्रमुख जागेश्वर यादव, FANSEP का क्लष्टर प्रमुख युगल किशोर तिवारी, तथा मत्स्य विज्ञ अरुण कुमार लगायतले मन्तव्य राखेका थिए। वक्ताहरूले तालिमले ह्याचरी सञ्चालकहरूको दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
*स्थानीय उत्पादनबाट आत्मनिर्भरता सम्भव
नेपालमा पछिल्ला वर्षहरूमा पांगासियस माछाको माग तीव्र रूपमा बढ्दै गएको छ, विशेषगरी मधेस तथा सीमावर्ती क्षेत्रहरूमा यसको उपभोग र व्यापार फस्टाउँदै गएको छ। यही सन्दर्भमा स्थानीय उत्पादनमा ध्यान दिनुपर्ने आवश्यकता अनुसार तालिम आयोजना गरिएको हो।
कार्यक्रमकी अध्यक्ष गौतमले भनिन्, “स्थानीय स्तरमै गुणस्तरीय भुरा उत्पादन हुन थालेमा कृषकको लागत घट्छ, उत्पादन बढ्छ, र राष्ट्रिय बजारमा आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ।तालिम २०८२ जेठ १६ देखि २२ गते सम्म चल्नेछ।