रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि हेतु जनकपुरमा स्वर्णबिन्दु प्राशनको शुभारम्भ
18 घन्टा पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम,असार ४ गते
बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि, शारीरिक तथा मानसिक विकास प्रवर्द्धन र आयुर्वेदप्रति जनविश्वास बढाउने उद्देश्यले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जनकपुरधामले “स्वास्थ्य वृद्धिका लागि स्वर्णप्राशन” नारासहित स्वर्णबिन्दु प्राशन कार्यक्रम शुभारम्भ गरेको छ।
चिकित्सालयका कार्यालय प्रमुख डा. महारूद्र कुमार ठाकुर को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा मधेस प्रदेशका सभामुख रामआशीष यादव, विशिष्ट अतिथिका धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेल तथा आयुर्वेद विभागका पूर्व महानिर्देशक श्याम बाबु यादव लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा आयुर्वेद विभागको अनुसन्धान महाशाखाका प्रमुख डा. पुण्येश्वर केसरी ले स्वर्णबिन्दु प्राशनसम्बन्धी आफ्नाे धारणा प्रस्तुत गर्दै स्वर्णबिन्दुका थोपाले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्नुका साथै मानसिक तथा बौद्धिक विकासमा समेत सकारात्मक प्रभाव पार्ने विषय विभिन्न अनुसन्धानबाट पुष्टि भएको दाबी गर्नुभयो। उहाँले स्वर्णबिन्दु प्राशनलाई सुरक्षित तथा लाभदायक अभ्यासको रूपमा व्याख्या गर्दै अभिभावकलाई निर्धक्क भई आफ्ना बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउन आग्रह गर्नुभयो।
त्यसैगरी, पूर्व महानिर्देशक यादवले स्वर्णबिन्दु प्राशनको ऐतिहासिक पृष्ठभूमि, आयुर्वेदमा यसको महत्व तथा वैज्ञानिक पक्षबारे प्रकाश पार्दै यसले बालबालिकाको समग्र शारीरिक, मानसिक र बौद्धिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो। आयुर्वेदिक उपचार पद्धतिलाई आधुनिक अनुसन्धान र प्रमाणसँग जोडेर अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो।
प्रमुख अतिथि सभामुख यादवले आयुर्वेद नेपालको मौलिक चिकित्सा प्रणाली भएको उल्लेख गर्दै यसको संरक्षण, संवर्द्धन र विस्तारमा राज्यले विशेष प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो। जनस्वास्थ्य सुधारमा आयुर्वेदको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमलाई प्रदेशव्यापी रूपमा विस्तार गर्न आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा स्वास्थ्यकर्मी, अभिभावक, विभिन्न सरकारी निकायका प्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकका अनुसार प्रत्येक महिनाको पुष्य नक्षत्रमा सञ्चालन गरिने स्वर्णबिन्दु प्राशन कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्य सुदृढीकरण, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा आयुर्वेदप्रति जनचेतना विस्तार गर्ने लक्ष्य राखिएको छ।