जनकपुरधाम अस्तव्यस्त बन्दै गएको भन्दै तत्काल सुधारको माग

10 दिन पहिले प्रकाशित

 

सरोज मल्लिक 

राष्ट्रिय आवाज

जनकपुरधाम, असोज १६ गते सुक्रबार 

धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाइ देखि सडक, सडकबत्ती, नाला र ट्राफिक व्यवस्थापन सम्मको अवस्था सुधार गर्न जनसरोकार अभियानले उपमहानगरपालिका सँग तत्काल पहल गर्न माग गरेको छ।

 

अभियानका अध्यक्ष जितेन्द्र महासेठ , महासचिव कौशल्या कुशवाहा ,कमलेश मण्डल प्रशान्त झा, प्रमोद यादव,निरञ्जन यादव सहितको टोलीले आज शुक्रबार नगर प्रमुख मनोजकुमार साह लाई ज्ञापनपत्र बुझाउँदै जनकपुरधामलाई स्वच्छ, सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनाउन नगर व्यवस्थापनलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो।

 

अभियानले नियमित र प्रभावकारी फोहोर व्यवस्थापन हुन नसक्दा नगरका विभिन्न स्थानमा फोहोर थुप्रिने र दुर्गन्ध फैलिने समस्या रहेको जनाएको छ। विशेषगरी जानकी मन्दिर तथा आसपासका क्षेत्रमा नियमित विशेष सरसफाइको व्यवस्था गर्न माग गरिएको छ।

 

जनकपुरधामका सडक तथा गल्लीमा बिग्रिएका सडकबत्ती तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन पनि अभियानले माग गरेको छ। पर्याप्त प्रकाशको अभावले नागरिकको आवागमन असहज हुनुका साथै सुरक्षा चुनौती समेत बढ्न सक्ने भन्दै चाडपर्वको समयमा विशेष ध्यान दिन आग्रह गरिएको छ।

त्यस्तै, जीर्ण तथा भत्किएका सडक तत्काल मर्मत गर्न, सडक तथा नालाका खुला र जीर्ण चेम्बर सुरक्षित बनाउन तथा टुटफुट भएका फुटपाथको मर्मत गर्न अभियानले माग गरेको छ।

खुला चेम्बरका कारण पैदल यात्रु जोखिममा परेको उल्लेख गर्दै अभियानले हालै एक बालिकाको खुट्टा चेम्बरमा फसेको घटनासमेत स्मरण गराएको छ। सडक, नाला, चेम्बर र फुटपाथको नियमित निरीक्षण गरी जोखिमयुक्त स्थान तत्काल मर्मत गर्नुपर्ने महासेठले बताए।

अटो रिक्सा र ट्राफिक व्यवस्थापनमा प्रश्न

अभियानले जनकपुरधामको ट्राफिक व्यवस्थापनलाई पनि प्रभावकारी बनाउन माग गरेको छ। नगर क्षेत्रमा अटो रिक्सा अव्यवस्थित रूपमा सञ्चालन हुँदा पैदल यात्रु तथा अन्य सवारीसाधनको आवागमन प्रभावित भइरहेको भन्दै अटो रिक्साको पार्किङ, रुट र सञ्चालनलाई व्यवस्थित गर्न आग्रह गरिएको छ।

यसअघि सर्वपक्षीय रूपमा भएका अटो रिक्सा व्यवस्थापन सम्बन्धी निर्णय कार्यान्वयन गर्न पनि अभियानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

* पर्यटक मैत्री शहर बनाउनुपर्ने

जनकपुरधाम धार्मिक तथा ऐतिहासिक पर्यटनको महत्वपूर्ण गन्तव्य भएकाले यहाँ आउने पर्यटक तथा तीर्थयात्रीका लागि सहज र सुरक्षित वातावरण निर्माण गर्नुपर्ने अभियानको भनाइ छ।

सरसफाइ, सडक, बत्ती, ट्राफिक तथा सार्वजनिक पूर्वाधार व्यवस्थित हुन नसक्दा शहरको छवि र पर्यटनमा असर पर्न सक्ने महासेठले बताए।

उनले भने, “जनकपुरधामको धार्मिक र ऐतिहासिक पहिचान अनुसार नगर व्यवस्थापन हुनुपर्छ। सरसफाइ देखि सडक र ट्राफिकसम्मका समस्या समाधान गर्न अब ढिलाइ गर्नु हुँदैन।”

जनसरोकार अभियानले नगरपालिकालाई ज्ञापनपत्रमा उठाइएका विषयमा तत्काल कार्यान्वयनमुखी कदम चाल्दै जनकपुरधाम लाई स्वच्छ, सुरक्षित र पर्यटकमैत्री धार्मिक नगरीका रूपमा विकास गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    राष्ट्रिय आवाज जनकपुरधाम, असोज २३ गते   धनुषा माछा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। यहाँ उत्पादित माछा..

  माेनु गुप्ता  सिरहा, असाेज २२ गते,लहान  युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यव..

  सरोज मल्लिक  जनकपुरधाम, असोज १९ गते बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले à¤..

  राष्ट्रिय आवाज जनकपुरधाम   मधेश प्रदेशमा खाद्य सुरक्षा तथा पोषणको अवस्था सुधार गर्न लैङ्गिक समानता र महिला..

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, असोज १६ गते सुक्रबार  धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधामको सरसफाà..