बालबालिकाको स्वास्थ्य प्रवर्द्धनमा ‘स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम
7 दिन पहिले प्रकाशित
सरोज मल्लिक
जनकपुरधाम, असोज १९ गते
बालबालिकाको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरधाममा आयोजित ‘स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम आज सोमबार सम्पन्न भएको छ।
मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, जनकपुरधाम–१४ को आयोजनामा पुष्य नक्षत्रका अवसरमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा १ देखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्ण बिन्दु प्राशन गराइएको चिकित्सालयले जनाएको छ। बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन भएको कार्यक्रममा बालबालिकाको उमेर तथा स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै चिकित्सकीय परामर्श र निगरानीमा २२८ जना बालबालिका लाई सेवा प्रदान गरिएको थियो।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जनकपुरधामका कार्यालय प्रमुख तथा आयुर्वेद चिकित्सक डा. महारुद्र ठाकुरले आयुर्वेदमा पुष्य नक्षत्रलाई विशेष महत्व दिइने बताउनुभयो। बालबालिकाको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ।
“बालबालिकाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर सेवा प्रदान गरिएको छ। अभिभावकले बालबालिकाको स्वास्थ्यसम्बन्धी आवश्यक परामर्श समेत लिन सक्नुहुन्छ,” डा. ठाकुरले भन्नुभयो।
* रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग पुग्ने विश्वास
आयुर्वेदिक मान्यताअनुसार स्वर्ण बिन्दु प्राशन लाई बालबालिकाको समग्र स्वास्थ्य प्रवर्द्धन सँग जोडिएको अभ्यासका रूपमा लिइन्छ। चिकित्सालयका अनुसार यसले रोग प्रतिरोधात्मक क्षमता, पाचन प्रणाली, शारीरिक तन्दुरुस्ती तथा मानसिक–बौद्धिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।
विशेषगरी पुष्य नक्षत्रका दिन स्वर्ण बिन्दु प्राशन गराउने आयुर्वेदिक परम्परा रहेको चिकित्सालयले जनाएको छ। कार्यक्रममार्फत बालबालिकाको स्वास्थ्यप्रति अभिभावकलाई सचेत गराउनुका साथै आयुर्वेदिक स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्य राखिएको थियो।
चिकित्सालयले बालबालिकाको स्वास्थ्य अवस्थाअनुसार आवश्यक चिकित्सकीय सल्लाह लिन अभिभावकलाई आग्रह गरेको छ। साथै, गम्भीर स्वास्थ्य समस्या भएका बालबालिकालाई चिकित्सकको सल्लाहअनुसार मात्र स्वर्ण बिन्दु प्राशन गराउन सुझाव दिइएको छ।