युवा सँग संसदीय प्रणाली र लोकतन्त्र बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न
4 दिन पहिले प्रकाशित
माेनु गुप्ता
सिरहा, असाेज २२ गते,लहान
युवालाई संसदीय प्रणाली, लोकतान्त्रिक मूल्य–मान्यता तथा शासन व्यवस्थाबारे जानकारी गराउने उद्देश्यले आयोजित ‘युवासँग संसदीय प्रणाली र लोकतन्त्र सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ आज बिहिबार सम्पन्न भएको छ।
मधेश प्रदेश सभाको आयोजना तथा पिपल प्रोमोट सेन्टर (पीपीसी) धनुषाको समन्वय र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत संसद सहयोग परियोजना (PSP) को सहयोगमा कार्यक्रम २०८३ असोज २२ गते सिरहाको लहान स्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता जे.एस. मुरारका बहुमुखी क्याम्पसका प्रमुख सञ्जय कुमार चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा मधेश प्रदेश सभा सदस्य माननीय राजेन्द्र प्रसाद चौधरीको उपस्थिति रहेको थियो।
कार्यक्रममा करिब दुई सय विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको थियो। सहभागी युवाहरूलाई नेपालको संसदीय प्रणाली, लोकतन्त्रको महत्व, संसद्को भूमिका, लोकतान्त्रिक शासन व्यवस्थामा युवाको सहभागिता तथा नागरिकका अधिकार र दायित्वका विषयमा जानकारी गराइएको थियो।
कार्यक्रममा यूएनडीपी संसद् सहयोग परियोजनाका संसदीय मामिला अधिकारी डा. बिटु बाबु श्रीवास्तवले युवासँग संसदीय प्रणाली र लोकतन्त्र सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्देश्य, महत्व तथा कार्यक्रमबाट युवाले हासिल गर्नुपर्ने विषयबारे जानकारी गराएका थिए। पिपल प्रोमोट सेन्टरका कार्यकारी निर्देशक प्रेमकान्त झाले प्रशिक्षण तथा सहजीकरण गरेका थिए।
अन्तरक्रियाका क्रममा विद्यार्थीहरूले शिक्षा, दाइजो प्रथा, वैदेशिक रोजगारी लगायतका समसामयिक विषयमा प्रदेश सभा सदस्य चौधरी समक्ष विभिन्न प्रश्न तथा जिज्ञासा राखेका थिए। विद्यार्थीहरूले स्थानीय तह तथा प्रदेशबाट शिक्षा र युवाका सवालमा गर्नुपर्ने कामबारे समेत प्रश्न गरेका थिए।
सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै प्रमुख अतिथि चौधरीले युवाको सवाललाई राज्यका नीति तथा कार्यक्रमसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै लोकतान्त्रिक प्रक्रियामा युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले स्थानीय स्तरमा गर्नुपर्ने काम तथा आगामी दिनमा युवाका सवालमा आफूले निर्वाह गर्नुपर्ने भूमिकाबारे समेत धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन पिपल प्रोमोट सेन्टर (पीपीसी) का अध्यक्ष कमलेश कुमार मण्डलले गरेका थिए। अन्त्यमा जे.एस. मुरारका बहुमुखी क्याम्पसका प्रमुख सञ्जय कुमार चौधरीले कार्यक्रमको समापन गरेका थिए।