जनकपुर धामका १२ व्यवसायिक प्रतिष्ठानमा अनुगमन, पाँच व्यवसायलाई रु. १ लाख ९५ हजार जरिवाना

10 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल

जनकपुरधाम,असार १९ गते

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोको अगुवाइमा शुक्रबार जनकपुरबधामका ११ वटा होटल तथा एक डेरी उद्योग गरी कुल १२ व्यवसायिक प्रतिष्ठानमा संयुक्त बजार अनुगमन गरिएको छ। अनुगमनका क्रममा खाद्य सुरक्षा, सरसफाइ, म्याद गुज्रिएका सामग्रीको प्रयोग, भण्डारण तथा सेवा गुणस्तरको निरीक्षण गरिएको थियो।

 

जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार निरीक्षक कृष्ण गैरे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विमल कुमार दाहाल लगायतको टोलीले रामा होटल, राजु होटल, वेलकम होटल, नयाँ नवरंग होटल, पुरानो नवरंग होटल, श्रीराम भोजनालय, हंसराज मिष्ठान्न भण्डार, जानकी स्टार होटल, मानकी होटल, न्यू सिटी होटल तथा हंसराज डेरी उद्योगमा अनुगमन गरेको हो।

 

अनुगमनका क्रममा अत्यधिक फोहर, म्याद गुज्रिएका खाद्य सामग्रीको प्रयोग तथा खाद्य ऐनविपरीतका गतिविधि भेटिएपछि राजु होटललाई रु. ४० हजार, श्रीराम भोजनालय लाई रु. २५ हजार, हंसराज मिष्ठान्न भण्डारलाई रु. ५० हजार, नयाँ नवरंग होटललाई रु. ४० हजार तथा न्यू सिटी होटललाई रु. ४० हजार गरी कुल रु. १ लाख ९५ हजार जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले जानकारी दिए।

अनुगमनका क्रममा रामा होटल र वेलकम होटलमा सरसफाइ तथा खाद्य व्यवस्थापन सन्तोषजनक भेटिएको टोलीले जनाएको छ। यद्यपि दुवै होटलमा प्लास्टिकको चोपिङ बोर्ड प्रयोग गरिएको पाइएकाले त्यसको सट्टा काठको चोपिङ बोर्ड प्रयोग गर्न कडा निर्देशन दिँदै चेतावनी समेत दिइएको छ।

 

मन्त्री फकिरा महतोले जनकपुरधाम धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्र भएकाले यहाँ सञ्चालित होटल तथा खाद्य व्यवसायहरू लाई गुणस्तरीय, स्वच्छ र उपभोक्ता मैत्री बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

उनले भने, “म सरकारमा रहुञ्जेल जनकपुरधामका होटल तथा पर्यटन क्षेत्रमा देखिएका बेथिति अन्त्य गर्न, सरसफाइ र खाद्य गुणस्तर कायम गराउन निरन्तर अनुगमन र आवश्यक कारबाही जारी रहनेछ।”

मन्त्री महतोले होटल व्यवसायीलाई कानुनको पूर्ण पालना गर्दै उपभोक्तालाई सुरक्षित, स्वच्छ र गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गरे। उनले जनकपुरधामको पर्यटन छवि सुदृढ बनाउन सरकार, व्यवसायी र सरोकारवाला सबै पक्षको साझा जिम्मेवारी रहेको उल्लेख गरे।

अनुगमन टोलीले आगामी दिनमा पनि नियमित रूपमा बजार अनुगमनलाई निरन्तरता दिँदै उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने तथा खाद्य ऐन उल्लङ्घन गर्ने जो–कोही माथि कानुनबमोजिम कडा कारबाही गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल  जनकपुरधाम,असार २९ गते    जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अ..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २५ गते    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ मा कार्यवाहक वडा अध्यक..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २४ गते  धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२४ स्थित श्री गोगल प्रसाद नम..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, असार २१ गते  जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोज..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,असार २१ गते    धनुषाको विदेह नगरपालिका–७, योगियाडास्थित श्री भगवती आधारभूत..