मेची–महाकाली यात्रामा विकास, शिक्षा र सुशासनको एजेन्डा बोकेर अघि बढ्दै डा. अमरेश सिंह
16 घन्टा पहिले प्रकाशित
सरोज मल्लिक
राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर ९ गते
मेची देखि महाकाली सम्म परिवर्तनको सन्देश बोकेर अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का माननीय डा. अमरेश कुमार सिंहको यात्रा आज जनकपुरधाम आइपुगेको छ। धनुषा निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत कपिलेश्वरमा स्थानीयवासी तथा रास्वपाका नेता–कार्यकर्ताले उहाँलाई स्वागत गरेका छन्।
यस क्रममा डा. सिंहले राष्ट्रिय आवाज सँग कुराकानी गर्दै मेची–महाकाली यात्रालाई देश र जनतालाई जोड्ने अभियानका रूपमा व्याख्या गर्नुभयो। उहाँले यात्राको मुख्य एजेन्डा विकास रहेको उल्लेख गर्दै जातपातका नाममा हुने विभेद, द्वन्द्व र झै झगडाको अन्त्य गरी देशमा शान्ति र सद्भाव कायम गर्नुपर्ने बताउनुभयो।
विगतका सरकारको मधेष प्रति नीति र नियत दुवै कमजोर हुँदा हुलाकी सडक दशकौँ देखि अलपत्र अवस्थामा रहेको उहाँको टिप्पणी थियो। तराईलाई अन्नको भण्डार मानिए पनि कृषि शिक्षाका लागि पर्याप्त कलेज र पुल्चोक इन्जिनियरिङ कलेज जस्तै गुणस्तरीय प्राविधिक शिक्षण संस्था तराईमा नहुनु विडम्बना भएको उहाँले बताउनुभयो।
यात्राका क्रममा आम नागरिकमा बालेन नेतृत्वको सरकारप्रति आशा र अपेक्षा रहेको आफूले पाएको उहाँको भनाइ थियो। उहाँले विद्यालय सुधार, सडक निर्माणसँगै सरसफाइलाई पनि विकासको महत्त्वपूर्ण पक्षका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
राष्ट्रिय आवाजका पत्रकार सरोज मल्लिकले सरकारी विद्यालयका शिक्षकले आफ्नै छोराछोरीलाई निजी बोर्डिङ स्कुलमा पढाउने प्रवृत्ति बारे प्रश्न गर्दा डा. सिंहले यसलाई सरकारी शिक्षा प्रणालीको कमजोर पक्षका रूपमा औँल्याउनुभयो।
उहाँले सरकारी विद्यालयका शिक्षकको तलब निजी विद्यालयका शिक्षकको तुलनामा बढी भए पनि पठनपाठनमा अपेक्षित जिम्मेवारी र ध्यान नदिएको अवस्था देखिएको टिप्पणी गर्नुभयो। आफ्नै पढाइप्रति शिक्षकको विश्वास कमजोर हुँदा आफ्ना सन्तानलाई निजी विद्यालयमा पठाउने प्रवृत्ति देखिएको उहाँको भनाइ थियो।
डा. सिंहले शिक्षा, सडक, कृषि, पूर्वाधार र सरसफाइलाई विकासका प्राथमिक एजेन्डा बनाउनुपर्ने धारणा राख्नुभयो।मेची–महाकाली यात्रा मार्फत जनताका समस्या, आवश्यकता र अपेक्षा बुझ्दै विकास तथा परिवर्तनको सन्देश फैलाउने उद्देश्य रहेको उहाँले बताउनुभयो।