बजेट कटौतीले मधेशको पदक लक्ष्यमा चुनौती, १० औँ राष्ट्रिय खेलकुदको तयारी प्रभावित हुने चिन्ता

7 दिन पहिले प्रकाशित

 

राष्ट्रिय आवाज

जनकपुरधाम, मंसिर ३ गते

 

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशको उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित खेलाडी छनोट तथा प्रशिक्षण प्रक्रिया अघि बढिरहेका बेला प्रदेश सरकारले तयारीका लागि विनियोजन गरेको बजेटमा ५० प्रतिशत कटौती गरेपछि खेलकुद क्षेत्रमा चिन्ता बढेको छ।

 

मधेश प्रदेश खेलकुद परिषद्का सदस्य सचिव शिवजी प्रसाद कानुले राष्ट्रिय आवाज सँगको कुराकानीमा प्रतियोगिताको तयारीका लागि विनियोजन गरिएको ४५ लाख रुपैयाँ बजेटमा ५० प्रतिशत कटौती गरिएकोले तयारीमा चुनौती सिर्जना भएको बताएका छन्।

 

उनका अनुसार पर्याप्त प्रशिक्षण, खेल सामग्री, आवास, भोजन, यातायात तथा बन्द प्रशिक्षण व्यवस्थापनका लागि आवश्यक बजेट उपलब्ध नहुँदा खेलाडीको तयारी प्रभावित हुन सक्ने अवस्था छ। यस्तो अवस्थामा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्ने प्रदेशको लक्ष्य चुनौतीपूर्ण बन्न सक्ने उनको चिन्ता छ।

 

आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कुल ३२ विधामध्ये मधेश प्रदेशले २९ विधामा सहभागिता जनाउने तयारी गरेको छ। खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक सहित ७१७ सदस्यीय टोलीले प्रतियोगितामा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने लक्ष्य राखिएको छ।

 

प्रतियोगिताका लागि खेलाडी छनोट प्रक्रिया जारी छ। अहिलेसम्म कबड्डीका महिला तथा पुरुष खेलाडी छनोट भइसकेका छन् भने क्रिकेट लगायत अन्य खेल विधाका खेलाडी छनोट प्रतियोगिता अहिले सञ्चालन भइरहेका छन्। सीमित समय र बजेट बीच खेलाडी छनोटसँगै प्रशिक्षण तथा व्यवस्थापनका कामलाई तीव्रता दिनुपर्ने चुनौती परिषद्सामु रहेको छ।

 

* अन्य प्रदेशमा करोडौँको लगानी, मधेशमा न्यून बजेटको गुनासो

 

खेलकुदलाई युवाको शारीरिक तथा मानसिक विकाससँगै स्वस्थ, अनुशासित र सिर्जनशील जनशक्ति निर्माणको महत्त्वपूर्ण माध्यमका रूपमा लिइन्छ। देशका सातवटै प्रदेशमध्ये कतिपय प्रदेशले खेलकुद पूर्वाधार, प्रशिक्षण, खेलाडी उत्पादन तथा प्रतियोगिता सञ्चालनमा करोडौँ रुपैयाँ लगानी गरिरहेको अवस्थामा मधेश प्रदेशमा भने तुलनात्मक रूपमा न्यून लगानी भइरहेको गुनासो खेलकुद क्षेत्रबाट उठ्दै आएको छ।

 

खेलकुदमा पर्याप्त लगानी नहुँदा खेलाडीले आवश्यक प्रशिक्षण, आधुनिक खेल सामग्री, व्यवस्थित खेलमैदान तथा अन्य सुविधाबाट अपेक्षित लाभ लिन नसक्ने अवस्था सिर्जना हुन सक्छ। विशेषगरी युवा जनशक्तिलाई खेलकुदमा आबद्ध गराई स्वस्थ, अनुशासित र सकारात्मक गतिविधिमा सक्रिय राख्न प्रदेश सरकारले दीर्घकालीन योजना र पर्याप्त बजेट सहित अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ।

 

मधेश प्रदेशमा प्रतिभाशाली खेलाडीको सम्भावना हुँदाहुँदै पनि आवश्यक पूर्वाधार, प्रशिक्षण र आर्थिक सहयोगको अभावले उनीहरूको क्षमता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्ने अवसर सीमित हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

 

‘खेली मधेश, जिती मधेश’ भन्ने नाराका साथ अघि बढिरहेको मधेश प्रदेश खेलकुद परिषद्ले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिएको छ। तर, नारालाई वास्तविक उपलब्धिमा रूपान्तरण गर्न खेलाडीको मनोबल सँगै पर्याप्त सरकारी लगानी, नियमित प्रशिक्षण र आवश्यक स्रोतसाधन उपलब्ध गराउनु अपरिहार्य देखिन्छ।

 

राष्ट्रिय प्रतियोगितामा पदक जित्ने लक्ष्य राख्नु सकारात्मक भए पनि त्यसका लागि खेलाडी छनोट गरेर मात्र पुग्दैन। उनीहरूलाई गुणस्तरीय प्रशिक्षण, आवश्यक खेल सामग्री, उचित आवास तथा भोजन र पर्याप्त अभ्यासको अवसर सुनिश्चित गर्नुपर्छ।

 

खेलकुद क्षेत्रलाई प्रदेशको प्राथमिकतामा राख्दै बजेट कटौतीको निर्णय पुनरावलोकन गर्न र आवश्यक रकम उपलब्ध गराउन प्रदेश सरकार सँग खेलकुदकर्मी तथा खेलाडीहरूले अपेक्षा गरेका छन्। खेलकुदमा गरिने लगानीलाई खर्चका रूपमा मात्र नभई स्वस्थ युवा जनशक्ति, सामाजिक अनुशासन र प्रदेशको पहिचान निर्माण गर्ने दीर्घकालीन लगानीका रूपमा बुझ्नुपर्ने आवश्यकता छ।

 मधेश प्रदेशको लक्ष्य पदक जित्ने मात्रै होइन, खेलकुद मार्फत सक्षम र स्वस्थ युवा पुस्ता निर्माण गर्नु पनि हो। त्यसका लागि सरकारी प्रतिबद्धता र लगानी व्यवहारमै देखिन आवश्यक छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर ९ गते  मेची देखि महाकाली सम्म परिवर्तनको सन्देश बोकेर अघि बढि..

  दिपक श्रेष्ठ मण्डल  महोत्तरी, मंसिर ६ गते  लोहरपट्टी नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि महदैया टोलीले..

  राष्ट्रिय आवाज  मंसिर ५ गते  बेनीपट्टीमा मिथिला विभूति स्मृति पर्व समारोह भव्य रूपमा सुरु भएको छ। समारोहकà..

  दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय अवाज जनकपुरधाम, मंसिर ५ गते  श्री सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकप..

दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज जनकपुर धाम धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दà..