अदालतको आदेशपछि पनि अन्योलमा कर्ण, न्यायको पर्खाइमा कर्मचारी
7 दिन पहिले प्रकाशित
राष्ट्रिय आवाज
जनकपुरधाम
धनुषा स्थित घरेलु तथा साना उद्योग कार्यालयमा कर्मचारी सरुवा र पदस्थापन लाई लिएर विवाद चुलिएको छ। प्रशासकीय अदालतले सरुवा निर्णय कार्यान्वयन नगर्न र सहायक शाखा अधिकृत मुकेशकुमार कर्णलाई साविककै कार्यालयमा कामकाज गर्न दिन अन्तरकालीन आदेश जारी गरे पनि त्यसको कार्यान्वयनलाई लिएर अन्योल देखिएको छ।
कर्णलाई २०८२ चैत १० गते सहायक शाखा अधिकृत पदमा घरेलु तथा साना उद्योग कार्यालय, धनुषामा पदस्थापन गरिएको थियो। उनी सोही कार्यालयमा हाजिर भई नियमित रूपमा काम गर्दै आएका थिए। तर, पदस्थापन भएको आठ महिना नपुग्दै २०८३ भदौ २५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशले उनलाई जनलोकपाल आयोगको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको थियो।
आफ्नो सरुवा निर्णय कानुनसम्मत नभएको र छोटो अवधिमै सरुवा गरिएको भन्दै कर्णले निर्णय पुनरावलोकन गरी बदर गर्न माग गरेका थिए। उनले २०८३ असोज २२ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिए पनि सुनुवाइ नभएको गुनासो गरे।
यसैबीच, असोज २९ गते कर्ण कार्यरत कार्यालयमा नायब सुब्बा पदका कर्मचारी संकल्प सौरभलाई सरुवा गरी पठाइएको थियो। त्यसपछि कर्णले सरुवा निर्णय बदरको माग गर्दै प्रशासकीय अदालतसिंह दरवार काठमाडौमा निवेदन दिएका थिए।
निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सरुवासम्बन्धी पत्रका आधारमा कर्णलाई रमाना नदिनु तथा उनलाई साविककै घरेलु तथा साना उद्योग कार्यालयमा यथास्थितिमा कामकाज गर्न दिन अन्तरकालीन आदेश जारी गरेको थियो।
तर, अदालतको आदेशपछि पनि आफूलाई कार्यालयमा काम गर्न नदिइएको कर्णको आरोप छ। कार्यालय प्रमुखले अदालतको आदेश हुँदाहुँदै आफूलाई कार्यालयबाट बाहिरिन दबाब दिएको र आफ्नो गुनासोको सुनुवाइ नभएको उनको भनाइ छ।
कार्यालय प्रमुख महतो भन्छन् : ‘नियमानुसार रमाना दिएको हुँ’
विवादबारे घरेलु तथा साना उद्योग कार्यालय धनुषाका प्रमुख मिथिलेश कुमार महतोले भने आफूले सरुवा निर्णयअनुसार नै कर्णलाई रमाना दिएको तर न बुझेको बताएका छन्।
राष्ट्रिय आवाजसँग कुरा गर्दै महतोले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा भएपछि कर्णको रमाना काटिसकेको र त्यसपछि मात्रै प्रशासकीय अदालतको यथास्थितिमा राख्ने आदेश सम्बन्धी पत्र प्राप्त भएको दाबी गरे।
‘मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सरुवा भएपछि मैले रमाना काटिसकेको थिएँ। रमाना दिइसकेपछि प्रशासकीय अदालतबाट यथास्थितिमा राख्ने सम्बन्धमा पत्र आएको हो,’ महतोले भने।
आफू १० वर्षदेखि निजामती सेवामा कार्यरत रहेको र डेढ महिनाअघि मात्रै घरेलु तथा साना उद्योग कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेको र पहिलो पटक कार्यलय प्रमूख भएको उनले जानकारी दिए।