जनकपुरधाम–१३ मा ‘खेल्दै सिक्ने केन्द्र’ को अनुगमन तथा अवलोकन
8 दिन पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम,मंसिर २ गते
जनकपुरधाम उपमहानगरपालिका वडा नं. १३ स्थित श्री हनुमान सामुदायिक सिकाइ केन्द्र (CLC) द्वारा सञ्चालित ‘खेल्दै सिक्ने केन्द्र’ को विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूले अनुगमन तथा अवलोकन गरेका छन्। केन्द्रकी अध्यक्ष उषा साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विभागका धर्मा तिवारी, फिल्डल्याण्ड राजदूतावास नेपालकी जुहाना कार्की, युनिसेफका शिक्षा विज्ञ वैशाली प्रधान , एसियाली विकास बैंक (ADB) का राजन आचार्य र विमल बाबु खतरी, सामर्थ्य कार्यक्रमका दीपेन्द्र विक्रम थापालगायतको सहभागिता रहेको थियो। त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरे, शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेय, शिक्षा अधिकृत इन्द्रप्रसाद गुप्तासहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। अनुगमनका क्रममा केन्द्रको शैक्षिक गतिविधि, बालबालिकाको सिकाइ वातावरण, खेलमार्फत शिक्षण पद्धति तथा कार्यक्रमको प्रभावकारिताबारे अवलोकन एवं छलफल गरिएको थियो। सो अवसरमा अध्यक्ष उषा साहले सामुदायिक सिकाइ केन्द्रले बालबालिकाको सर्वाङ्गीण विकास, प्रारम्भिक सिकाइ तथा खेलमार्फत शिक्षणलाई प्राथमिकता दिँदै आएको बताउनुभयो। उहाँले ‘खेल्दै सिक्ने केन्द्र’ बालबालिकालाई रमाइलो वातावरणमा सिक्ने, सिर्जनशीलता विकास गर्ने र व्यवहारिक ज्ञान हासिल गर्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै यसको प्रभावकारी सञ्चालनका लागि सम्बन्धित निकाय तथा संघसंस्थाको निरन्तर सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा CLC का कार्यक्रम सञ्चालक एवं सदस्य कमलेश मण्डल, परिचालक मिनु कुमारी साह लगायतको उपस्थिति रहेको थियो।