धनौजी गाउँपालिकामा शिक्षा समूह गठन, गुणस्तरीय शिक्षाका लागि समन्वय बढाइने
21 दिन पहिले प्रकाशित
दीपक श्रेष्ठ मंडल
धनुषा, साउन २१ गते
धनौजी गाउँ पालिकाको आयोजनामा पीपीसी र युनिसेफको सहजीकरणमा शिक्षा समूह गठन तथा अभिमुखीकरण कार्यक्रम आज बिहीबार सम्पन्न भएको छ।
धनौजी गाउँपालिका–२ स्थित श्री शंकर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रम गाउँपालिका अध्यक्ष राजकुमार साहको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासको उपस्थिति रहेको थियो।
कार्यक्रममा पीपीसीकी रञ्जना पोखरेल र युनिसेफकी सजना सुनुवारले शिक्षा समूहको उद्देश्य, भूमिका, बालअधिकार संरक्षण, समावेशी शिक्षा तथा विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितताबारे सहजीकरण गरेका थिए।
कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख विजयकुमार मण्डलले गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष राजकुमार साहले शिक्षा क्षेत्रको विकासका लागि सबै सरोकारवाला बीच समन्वय र सहकार्य आवश्यक रहेको बताए। उनले नवगठित शिक्षा समूहले विद्यालयको गुणस्तर सुधार, बालमैत्री वातावरण निर्माण तथा स्थानीय तहमा शिक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले शिक्षा समूह गठनले विद्यालय, अभिभावक, जनप्रतिनिधि र सम्बन्धित निकायबीचको सहकार्यलाई संस्थागत गर्दै गुणस्तरीय शिक्षाको लक्ष्य हासिल गर्न सहयोग पुग्ने धारणा राखे।
कार्यक्रममार्फत धनौजी गाउँपालिकामा शिक्षा क्षेत्रको समन्वय, बाल संरक्षण तथा विद्यालय सुधारलाई प्रभावकारी बनाउने उद्देश्यसहित शिक्षा समूह गठन गरिएको छ। नवगठित शिक्षा समूहको संयोजकमा गाउँपालिका अध्यक्ष राजकुमार साह चयन भएका छन्। समूहमा प्रमुख प्रशासकीय अधिकृत राजकुमार दास, मनोजकुमार मण्डल, रामदेव ठाकुर, रामनारायण मण्डल लगायत सदस्य रहेका छन्।
कार्यक्रममा जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले शिक्षा समूहमार्फत विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि, बालमैत्री वातावरण निर्माण तथा स्थानीय तहमा शिक्षा क्षेत्रको समन्वय अझ प्रभावकारी बन्ने विश्वास व्यक्त गरेका थिए।