जनकपुरधाममा अपाङ्गता सम्बन्धी सृजनात्मक सिकाइ कार्यक्रम सम्पन्न
11 दिन पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, श्रावण ३१ गते
जनकपुरधाममा अपाङ्गता सम्बन्धी सृजनात्मक सिकाइ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। नेत्रहीन युवा संघ नेपाल (BYAN) को आयोजनामा जनकपुर धाम स्थीत पौवा होटलमा सम्पन्न कार्यक्रममा पैरवी तथा सचेतना अभिवृद्धिमा युवाहरू लाई सक्रिय रूपमा संलग्न गराउने उद्देश्यले अपाङ्गता भएका युवाले भोग्दै आएका चुनौती र समाधानका उपायबारे छलफल गरिएको थियो।
कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी तथा राजनीतिक सहभागिता लगायतका क्षेत्रमा अपाङ्गता भएका युवाको अर्थपूर्ण सहभागिता, उपस्थिति तथा नेतृत्व अभिवृद्धि गर्न अपनाउन सकिने व्यावहारिक उपायबारे छलफल गरिएको थियो।
‘यात्रा परियोजना’ अन्तर्गत आयोजित कार्यक्रममा सहभागीहरुले दृष्टि लगायत अन्य अपाङ्गता भएका युवाले शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीतिक सहभागिता तथा नेतृत्व विकासका क्षेत्रमा भोग्दै आएका चुनौती, अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उपाय तथा नेतृत्व विकासका व्यावहारिक माध्यम बारे आफ्ना अनुभव साझा गरेका थिए।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघका महासचिव विजयकुमार यादव, अपाङ्ग महिला संघ धनुषाकी ममता भट्ट, महोत्तरी नेत्रहीन संघका राजीवकुमार साह तथा महोत्तरी बहिरा संघका प्रमोद वर्मा लगायतको सहभागिता रहेको थियो।
नेत्रहीन युवा संघका समावेशीकरण सहजकर्ता प्रकाश दत्तले कार्यक्रम सञ्चालन गरेका थिए भने संघका क्षमता सुदृढीकरण तथा ज्ञान व्यवस्थापन अधिकृत विजयकुमार महतोले सहजीकरण तथा विषयगत छलफलमा सहभागिता जनाएका थिए।
कार्यक्रममा विभिन्न प्रकारका अपाङ्गता भएका युवाहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले अधिकार प्राप्तिका लागि आन्दोलन, पैरवी तथा सचेतना अभियानमा युवाहरूको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
नेपाल नेत्रहीन युवा संघ दृष्टि अपाङ्गता भएका युवाले स्थापना तथा सञ्चालन गरेको राष्ट्रियस्तरको संस्था हो। संघका अनुसार देशभरका १० वटा शाखामार्फत ८५० भन्दा बढी विभिन्न प्रकारका अपाङ्गता भएका युवा संस्थासँग आबद्ध छन्।
‘हाम्रो बारेमा हामीबिना केही पनि होइन’ भन्ने मूल भावनासहित आयोजित कार्यक्रमले दृष्टि अपाङ्गता भएका युवाको अर्थपूर्ण सहभागिता तथा नेतृत्व विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।