नेपाल–भारत सम्बन्धमा नयाँ सोच र सहकार्य आवश्यक
7 दिन पहिले प्रकाशित
राष्ट्रिय अवाज
जनकपुरधाम, भाद्र ४ गते
बदलिँदो विश्व परिवेश अनुसार नेपाल–भारत सम्बन्ध लाई नयाँ सोचका साथ अघि बढाउँदै आपसी सहकार्य लाई थप मजबुत बनाउनुपर्नेमा जनकपुरधाममा आयोजित एक दिने विचार गोष्ठीका सहभागीहरूले जोड दिएका छन्।
सोसल डेभलपमेन्ट एन्ड रिसर्च सेन्टर (एसडीआरसी) को आयोजनामा भारतको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा ‘वर्तमान अवस्थामा नेपाल–भारत सम्बन्ध’ विषयक विचार गोष्ठी आयोजना गरिएको हो।
एसडीआरसीका अध्यक्ष रामसिंह यादवको अध्यक्षतामा सम्पन्न गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव प्रमुख अतिथि तथा भारतीय महावाणिज्य दूतावास वीरगञ्जका कन्सुलेट जनरल डा. डि.एस. मिना विशिष्ट अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा पूर्वमन्त्रीहरू रामचन्द्र झा, भगवती चौधरी र डा. सुरेन्द्र यादव , समाजिक अभियान्ता सत्य नारायण साह, पिपिसीका अध्यक्ष कमलेश मंडल,गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव रामचन्द्र साह सहित बुद्धिजीवी, शिक्षाविद्, पत्रकार तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता थियो।
गोष्ठीमा वक्ताहरूले नेपाल–भारत सम्बन्ध केवल कूटनीतिक तहमा सीमित नभई ऐतिहासिक, सामाजिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धमा आधारित रहेको उल्लेख गरे। लामो समयदेखि कायम रहेको जनस्तरीय सम्बन्ध लाई बदलिँदो परिस्थितिअनुसार थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ थियो।
वरिष्ठ पत्रकार श्यामसुन्दर शशिले नेपाल–भारत सम्बन्धलाई विभिन्न ऐतिहासिक कालखण्डका आधारमा अध्ययन गर्नुपर्ने धारणा राख्दै सन् १८१६ को सुगौली सन्धिपछिको समयलाई आधुनिक नेपाल–भारत सम्बन्धको महत्वपूर्ण चरणका रूपमा लिनुपर्ने बताए। दुवै देशका लोकतान्त्रिक आन्दोलनमा समेत एकअर्काको परिपूरक भूमिका रहेको उनले उल्लेख गरे।
वक्ताहरूले पछिल्लो समय ‘रोटी–बेटीको सम्बन्ध’को मूल भावना कमजोर हुँदै गएको प्रति चिन्ता व्यक्त गरे। सीमावर्ती क्षेत्रमा सामाजिक तथा सांस्कृतिक सम्बन्धभन्दा अवैध मदिरा कारोबार, जुवातास तथा अन्य आपराधिक गतिविधि हाबी हुन थालेको भन्दै त्यसलाई नियन्त्रण गर्न दुवै देशबाट प्रभावकारी पहल आवश्यक रहेको उनीहरूको भनाइ थियो।
बदलिँदो भूराजनीतिक तथा आर्थिक परिवेशमा नेपाल–भारत सम्बन्धलाई पुरानै ढाँचामा मात्र अघि बढाउन नसकिने भन्दै सहभागीहरूले आर्थिक, पर्यटन, शिक्षा, संस्कृति तथा जनस्तरीय सहकार्यका नयाँ क्षेत्र पहिचान गर्नुपर्नेमा जोड दिए।
गोष्ठीका सहभागीहरूले आपसी सम्मान, समानता, विश्वास र साझा हितका आधारमा नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनु सरकार सँगै नागरिक समाज र सीमावर्ती समुदायको भूमिका महत्वपूर्ण हुने निष्कर्ष निकालेका छन्।