रोग फैलिनु अघि नै पहिचान गर्न समुदायस्तरमा निगरानी प्रणालीबारे अभिमुखीकरण
6 दिन पहिले प्रकाशित
मोनु गुप्ता
जनकपुरधाम, भदौ ५ गते
रोगको प्रकोप फैलिनु अघि नै समुदायस्तर बाट असामान्य स्वास्थ्य घटना पहिचान गरी समयमै सम्बन्धित निकायसम्म सूचना पुर्याउने उद्देश्यले हंसपुर नगरपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
हंसपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बघचौडा स्वास्थ्य चौकी–२ मा समुदायका सरोकारवालाहरूका लागि एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल जनस्वास्थ्य अनुसन्धान तथा विकास केन्द्र (पीएचआरडी नेपाल) साझेदारी संस्थाका रूपमा सहभागी रहेको थियो भने युनिसेफले आर्थिक सहयोग गरेको थियो।
कार्यक्रमका प्रमुख अतिथि हंसपुर नगरपालिका–२ का वडा अध्यक्ष जय नारायण कापरी रहेका थिए। कार्यक्रममा कार्यक्रम अधिकृत लेखनाथ यादवले समुदायमा आधारित रोग निगरानी प्रणाली, अनपेक्षित जनस्वास्थ्य घटना तथा त्यस्ता घटना समयमै सूचित गर्नुपर्ने विषयमा प्रशिक्षण दिएका थिए।
प्रशिक्षणका क्रममा सामान्य अवस्थामा देखिने भन्दा असामान्य रूपमा बढी स्वास्थ्यसम्बन्धी घटना देखिएमा त्यसलाई अनपेक्षित जनस्वास्थ्य घटना मानिने जानकारी दिइएको थियो। यस्ता घटनाले प्रकोप वा महामारीको रूप लिन सक्ने भएकाले समुदायस्तरमै समयमै पहिचान र सूचना अत्यन्त महत्वपूर्ण हुने बताइएको थियो।
समयमै सूचना प्राप्त हुँदा रोगको पहिचान तथा उपचार छिटो गर्न, संक्रामक रोग फैलिन बाट रोक्न, सम्भावित प्रकोप तथा महामारी नियन्त्रण गर्न र तत्काल हुने मृत्यु तथा दीर्घकालीन अपाङ्गता न्यूनीकरण गर्न सहयोग पुग्ने कार्यक्रममा जानकारी दिइएको थियो।
स्वास्थ्यसम्बन्धी कुनै पनि असामान्य घटना, रोगका लक्षण वा रोगको प्रकोप देखिएमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ‘हेल्लो स्वास्थ्य’ १११५ नम्बरमा जानकारी गराउन सहभागीहरूलाई आग्रह गरिएको थियो।
कार्यक्रमले समुदाय स्तरमै स्वास्थ्यसम्बन्धी असामान्य घटना पहिचान गर्ने तथा त्यसबारे समयमै सम्बन्धित स्वास्थ्य निकायसम्म सूचना पुर्याउने क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।