३६ औँ स्थापना दिवसमा श्री राम युवा कमिटी द्वारा सरसफाइ तथा वृक्षारोपण
8 घन्टा पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, भदौ ११ गते
श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा सेवामूलक कार्यक्रम आयोजना गरी मनाउन थालेको छ। स्थापना दिवसको आज पहिलो दिन बिहीबार बिहान सरसफाइ तथा वृक्षारोपण र साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।
कमिटी परिसरमा बिहान आयोजित सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुष्पराज भट्टको नेतृत्वमा ३० जना सुरक्षाकर्मी सहभागी भएका थिए। सुरक्षाकर्मीहरूले कमिटी परिसरको सरसफाइ गर्नुका साथै वातावरण संरक्षणको सन्देश दिँदै वृक्षारोपणमा समेत सहभागिता जनाएका थिए।
त्यसैगरी, स्थापना दिवसको अवसरमा बिहीबार साँझ दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिएको थियो।
कमिटीका अध्यक्ष विजय शाहले स्थापना दिवसलाई केवल उत्सवमा सीमित नराखी सामाजिक उत्तरदायित्व सँग जोडेर कार्यक्रम आयोजना गरिएको बताए। उनका अनुसार पहिलो दिन सरसफाइ, वृक्षारोपण तथा दीप प्रज्वलन गरिएको छ भने दोस्रो दिन मानव सेवा आश्रममा निःशुल्क भोजन र तेस्रो दिन रक्तदान कार्यक्रम आयोजना गरिनेछ।
नेपालमा प्राकृतिक विपद् तथा बाढीका कारण जनजीवन प्रभावित भई देश शोकमग्न अवस्थामा रहेकाले यस वर्ष स्थापना दिवसमा अनावश्यक तामझाम नगर्ने निर्णय गरिएको अध्यक्ष शाहले बताए। विपद बाट प्रभावित नागरिक प्रति संवेदनशीलता जनाउँदै स्थापना दिवसलाई सामाजिक सेवामुखी कार्यक्रममै केन्द्रित गरिएको उनले जानकारी दिए।
कमिटीका अनुसार भदौ १२ गते शुक्रबार साँझ ६ बजे मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूका लागि निःशुल्क भोजनको व्यवस्था गरिनेछ। त्यसैगरी, भदौ १३ गते शनिबार बिहान जनक चोकमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ।
सामाजिक सेवामा योगदान पुरयाउने उद्देश्यले आयोजना गरिएका कार्यक्रममा स्थानीय युवा, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता रहने कमिटीले जनाएको छ।
सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा कमिटीका उपाध्यक्ष दीपककुमार साह, पूर्वअध्यक्ष प्रमोद चौधरी लगायतको उपस्थिति थियो।
३६औँ स्थापना दिवसलाई सामाजिक उत्सवका रूपमा अघि बढाउँदै सरसफाइ, वातावरण संरक्षण, मानव सेवा र रक्तदान मार्फत समुदायसँगको सम्बन्ध थप मजबुत बनाउने उद्देश्य रहेको कमिटीले जनाएको छ।