राधाकृष्ण सार्वजनिक पुस्तकालयको निर्वाचन टोली सम्मानित
19 दिन पहिले प्रकाशित
भाग्य चरण यादब
राष्ट्रिय आवाज
जनकपुरधाम, कार्तिक २१ गते
श्री राधाकृष्ण सार्वजनिक पुस्तकालय, जनकपुरधाम–१४, मुजेलियाले नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन टोलीलाई सम्मान गरेको छ।
पुस्तकालयका अध्यक्ष तथा कार्यसमिति परिवारले निर्वाचन अधिकृत विद्याकर प्रसाद साह सहित निर्वाचन सदस्यहरू राम स्नेही साह, पंकज मिश्रा र रामविनोद यादव लाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरेको हो।
पुस्तकालयको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रियालाई निष्पक्ष, व्यवस्थित र सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन टोलीले निर्वाह गरेको जिम्मेवारीको उच्च प्रशंसा गर्दै उनीहरूप्रति आभार व्यक्त गरिएको थियो।
सम्मान कार्यक्रममा पुस्तकालयका सल्लाहकार तथा नेपाली कांग्रेस जनकपुरधाम–१४ का वडा सभापति ब्रह्मदेव मिश्रा, पूर्व वडा अध्यक्ष मोहन यादवसहित पुस्तकालयका कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले पुस्तकालयको संस्थागत विकास, सामाजिक तथा शैक्षिक क्षेत्रमा यसको भूमिकालाई थप प्रभावकारी बनाउँदै आगामी दिनमा नयाँ कार्यसमितिले रचनात्मक ढंगले काम गर्ने विश्वास व्यक्त गरेका थिए।निर्वाचन टोलीलाई गरिएको सम्मानले संस्थागत जिम्मेवारी निर्वाह गर्ने व्यक्तिहरूको योगदानको कदर गर्नुका साथै पुस्तकालयको भावी विकासका लागि सकारात्मक सन्देश दिएको छ।