गोगल नमुना माविको शैक्षिक उन्नतिका लागि सामूहिक सहकार्यमा जोड
19 दिन पहिले प्रकाशित
राष्ट्रिय आवाज
जनकपुरधाम, कार्तिक २१ गते
जनकपुरधाम उपमहानगरपालिका–२४, बसहियास्थित श्री गोगल नमुना माध्यमिक विद्यालयको शैक्षिक तथा संस्थागत विकासका लागि सामूहिक सहकार्य, समन्वय र जिम्मेवारीबोध आवश्यक रहेकोमा जोड दिइएको छ।
दीपावली तथा छठ पर्वको अवसरमा विद्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण कार्यक्रममा वक्ताहरूले विद्यालयको शैक्षिक उपलब्धि कायम राख्दै थप सुधार गर्न सबै पक्ष एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले सर्वसम्मत रूपमा चयन भएको विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।
उनले श्री गोगल नमुना माध्यमिक विद्यालय देशकै उत्कृष्ट विद्यालयमध्ये पर्न सफल भएको उल्लेख गर्दै विद्यालयको शैक्षिक उपलब्धि प्रशंसनीय रहेको बताए। विद्यालयले प्राप्त गरेको सफलता शिक्षक, कर्मचारी, अभिभावक, व्यवस्थापन समिति, स्थानीय समुदाय तथा सहयोगी दाताहरूको सामूहिक प्रयासको प्रतिफल भएको उनको भनाइ थियो।
नगर प्रमुख साहले विद्यालयको प्रगति भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित हुन नहुने बताउँदै गुणस्तरीय शिक्षा, विद्यार्थीको अनुशासन र शैक्षिक उपलब्धिमा समेत देखिनुपर्नेमा जोड दिए। विद्यालयलाई थप उत्कृष्ट बनाउन सबै सरोकारवालाले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने उनले बताए।
विद्यालयका प्रधानाध्यापक महावीर दासले विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियामा देखिएका जटिलताप्रति ध्यानाकर्षण गराए। जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका अधिकांश विद्यालयमा अझै व्यवस्थापन समिति गठन हुन नसकेको उल्लेख गर्दै उनले समितिको अभावमा संस्थागत निर्णय प्रक्रिया तथा व्यवस्थापकीय कामकारबाही प्रभावित हुने गरेको बताए।
विद्यालयको प्रभावकारी सञ्चालन, संस्थागत विकास र कानुनी प्रक्रियाअनुसार कार्यसम्पादनका लागि व्यवस्थापन समितिको गठन र सक्रियता अपरिहार्य रहेको उनको भनाइ थियो।
यसैबीच, नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन प्रसाद शर्माले विद्यालयको विकासका लागि सबैको नियत सफा, सोच सकारात्मक र उद्देश्य सामूहिक हुनुपर्ने बताए।
उनले विद्यालयको उन्नति कुनै एक व्यक्ति वा निकायको प्रयासबाट मात्र सम्भव नहुने उल्लेख गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरे। शिक्षक, अभिभावक, स्थानीय समुदाय र सरोकारवालाबीच सहकार्य तथा समन्वय कायम गर्दै विद्यालयको शैक्षिक र संस्थागत विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत उनले जनाए।
विद्यालय प्रशासनका अनुसार शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनअन्तर्गत नियम ३० बमोजिम गौरीशंकर मण्डलको अध्यक्षतामा ११ सदस्यीय शिक्षक–अभिभावक संघ गठन गरिएको हो। कार्यक्रममा नवगठित विद्यालय व्यवस्थापन समिति तथा शिक्षक–अभिभावक संघका पदाधिकारीहरूलाई औपचारिक रूपमा प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाकी शिक्षा शाखा प्रमुख अञ्जु पाण्डेय, वडा नं. २४ का अध्यक्ष शेषनाथ मण्डल, एकाइ प्रमुख प्रताप सिंह धामी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शत्रुधन प्रसाद शर्मा, प्रधानाध्यापक महावीर दास तथा विद्यालयका सहयोगी चन्दादाता सुरेन्द्र प्रसाद ठाकुरलगायत शिक्षक, अभिभावक, समाजसेवी र स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत पारदर्शिता, सुशासन र विद्यार्थीमैत्री वातावरण निर्माणका लागि नवगठित समिति तथा संघले प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।विद्यालयको समग्र विकासका लागि नेतृत्वको सक्रियता मात्र नभई शिक्षक, अभिभावक, जनप्रतिनिधि र समुदायको साझा प्रतिबद्धता आवश्यक रहेको सन्देशसमेत कार्यक्रमले दिएको छ।