सन्त निरंकारी मण्डल द्वारा रत्न सागर पोखरी सरसफाइ
19 दिन पहिले प्रकाशित
राष्ट्रिय आवाज
जनकपुरधाम, कार्तिक २१ गते
दीपावली, भाइटीका तथा छठ पर्वलाई लक्षित गर्दै सन्त निरंकारी मण्डल, जनकपुरधाम १४०१ युनिटले आज शनिबार जनकपुरधाम स्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको रत्नसागर पोखरीमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
धार्मिक सम्पदाको संरक्षण, वातावरणीय स्वच्छता र जनकपुरधामको सौन्दर्य कायम राख्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय नागरिक समाजका प्रतिनिधि तथा मण्डलका सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले पोखरी परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ गर्दै सार्वजनिक सम्पदाको संरक्षण र स्वच्छ वातावरण निर्माणमा सामूहिक पहल आवश्यक रहेको सन्देश दिएका छन्।
पर्वको समयमा धार्मिक स्थल तथा सार्वजनिक स्थानमा श्रद्धालु र सर्वसाधारणको चहलपहल बढ्ने भएकाले सरसफाइको महत्त्व अझ बढ्ने आयोजकको भनाइ छ। पोखरी तथा धार्मिक सम्पदाको संरक्षणले जनकपुरधामको ऐतिहासिक पहिचान जोगाउनुका साथै सहरको सौन्दर्य र धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्या्उने विश्वास गरिएको छ।
सन्त निरंकारी मण्डल, जनकपुरधामका प्रमुख बेचु रजकले सामाजिक उत्तरदायित्व निर्वाह गर्न प्रत्येक व्यक्ति तथा संघसंस्थाले समाजका लागि केही समय छुट्याउनुपर्ने बताए। समाजको हित, वातावरण संरक्षण र सकारात्मक परिवर्तनका लागि सामाजिक संघसंस्थाहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
‘सरसफाइका लागि हामीले केही समय दिनुपर्छ। सामाजिक संघसंस्थाहरूले पनि समाजको हकहित र वातावरण संरक्षणका लागि जिम्मेवारीपूर्वक काम गर्न सक्नुपर्छ,’ रजकले राष्ट्रिय आवाज सँगको कुराकानीमा भने।उनले सरसफाइलाई कुनै एक दिन वा अभियानमा मात्र सीमित नराखी दैनिक जीवनको व्यवहार बनाउनुपर्ने आवश्यकतासमेत औँल्याए।
जनकपुरधामका पोखरी, मठमन्दिर तथा अन्य ऐतिहासिक सम्पदा सहरको धार्मिक र सांस्कृतिक पहिचान हुन्। तिनको संरक्षण र स्वच्छता कायम राख्नु सम्बन्धित निकाय सँगै स्थानीय नागरिकको पनि साझा दायित्व हो। रत्नसागर पोखरीमा गरिएको सरसफाइ अभियानले यही सामूहिक जिम्मेवारीबोध लाई थप उजागर गरेको छ।‘स्वच्छ पोखरी, सुन्दर जनकपुरधाम’को सन्देश सहित सम्पन्न अभियानले सार्वजनिक सम्पदाको संरक्षणमा समाजिक संघ संस्था तथा नागरिक सहभागिताको महत्त्वलाई पुनः स्थापित गरेको छ।