खेल बजेट घटेपछि मधेशका खेलाडी निराश, पर्याप्त लगानी र सुविधाको माग

12 दिन पहिले प्रकाशित

 

दिपक श्रेष्ठ मण्डल 

जनकपुरधाम

कात्तिक २८ गते

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशको उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित खेलाडी छनोट प्रक्रिया सुरु भइरहँदा तयारीका लागि विनियोजित बजेटमा ५० प्रतिशत कटौती भएपछि खेलाडीहरू निराश बनेका छन्। पर्याप्त प्रशिक्षण, खेल सामग्री, आवास तथा अन्य आवश्यक सुविधाको अभावमा राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने लक्ष्य चुनौतीपूर्ण बन्न सक्ने भन्दै खेलाडीहरूले मधेष प्रदेश सरकार सँग खेलकुद क्षेत्रमा लगानी बढाउन माग गरेका छन्।

 

मधेश प्रदेश खेलकुद परिषद द्वारा जनकपुरधाम स्थित कभर्ड हलमा आयोजित प्रदेशस्तरीय छनोट प्रतियोगितामा सहभागी खेलाडीहरूले बजेट कटौतीले खेलकुदको तयारी र व्यवस्थापनमा प्रत्यक्ष असर पार्न सक्ने बताएका छन्।

 

राष्ट्रिय कबड्डी खेलाडी आदित्य चौधरीले खेलाडीहरू आर्थिक लाभका लागि मात्र नभई आफ्नो स्वास्थ्य, देश र मधेश प्रदेशको गौरवका लागि खेल्ने गरेको बताए। खेलाडीहरूले निरन्तर मेहनत गरेर पदक ल्याइरहे पनि राज्य बाट अपेक्षित सहयोग र सुविधा प्राप्त हुन नसकेको उनको गुनासो छ। खेलकुदको विकास र खेलाडीको भविष्य सुनिश्चित गर्न सरकारले थप ध्यान दिनुपर्ने उनले बताए।

 

चौधरीका अनुसार एक महिनासम्म सञ्चालन हुनुपर्ने बन्द प्रशिक्षण क्याम्प हाल एक सातामा सीमित गरिएको छ। छोटो प्रशिक्षण अवधिले खेलाडीको तयारी र प्रदर्शनमा असर पार्न सक्ने भन्दै उनले प्रशिक्षण अवधि बढाउनुपर्ने आवश्यकता औँल्याए। साथै खेलाडीको हितमा सदस्यसचिव शिवजी प्रसाद कानुले देखाएको चासो, सक्रियता र सहयोगको प्रशंसा गर्दै आगामी दिनमा सबै खेल विधालाई समान प्राथमिकता दिन आग्रह गरे।

 

उनले खेलकुदका क्रममा खेलाडीलाई चोटपटक लाग्ने जोखिम रहने भएकाले स्वास्थ्य परीक्षण, तत्काल उपचार तथा आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था गर्नसमेत परिषद्को ध्यानाकर्षण गराए।

 

त्यस्तै, सर्लाहीकी कबड्डी खेलाडी फिरोजा खातुनले सदस्यसचिव कानुले खेलाडीको हितमा सकारात्मक काम गरिरहेको भन्दै प्रशंसा गरिन्। खेलाडीका समस्या बुझ्ने र खेलकुद गतिविधिलाई निरन्तरता दिने प्रयासले खेलाडीहरूमा उत्साह थपिएको उनको भनाइ छ।

 

यसैगरी, बाराकी खेलाडी अर्किता पटेलले सदस्यसचिव कानु नियुक्त भएदेखि नै विभिन्न खेलकुद गतिविधि निरन्तर सञ्चालन भइरहेको बताइन्। खेलाडीलाई प्रतिस्पर्धा गर्ने र आफ्नो प्रतिभा देखाउने अवसर उपलब्ध गराउने कार्य सकारात्मक रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि खेलकुद गतिविधिलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।

 

खेलाडीहरूले परिषद्का सदस्यसचिवको सक्रियताको प्रशंसा गरे पनि खेलकुद क्षेत्रमा पर्याप्त बजेट, नियमित प्रशिक्षण, आवश्यक खेल सामग्री र स्वास्थ्य सुरक्षाको व्यवस्था हुनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार खेलाडीबाट पदकको अपेक्षा गर्ने राज्यले उनीहरूको तयारी र सुविधामा पनि उत्तिकै जिम्मेवारी लिनुपर्छ।

 

राष्ट्रिय प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले विनियोजन गरेको ४५ लाख रुपैयाँ बजेटमा ५० प्रतिशत कटौती गरिएको र बाँकी रकमसमेत रोक्का गर्ने निर्णय भएको विषयले खेलकुद क्षेत्रको चिन्ता थपिएको छ। खेलाडीहरूको आवास, भोजन, यातायात, प्रशिक्षण सामग्री तथा बन्द प्रशिक्षण व्यवस्थापनका लागि पर्याप्त बजेट आवश्यक रहेको उनीहरूको भनाइ छ।

 

आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका कुल ३२ विधामध्ये मधेश प्रदेशले २९ विधामा सहभागिता जनाउने तयारी गरेको छ। खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक सहित ७१७ सदस्यीय टोलीले प्रदेशको प्रतिनिधित्व गर्ने लक्ष्य राखिएको छ। यस्तो महत्त्वपूर्ण प्रतियोगिताको तयारीकै समयमा बजेट कटौती र प्रशिक्षण अवधि छोट्याइनुले मधेशको पदक लक्ष्यमा चुनौती थपेको देखिन्छ।

 

खेलकुद केवल पदक जित्ने माध्यम मात्र नभई नागरिकको स्वास्थ्य, अनुशासन, प्रतिभा र भविष्य निर्माणको आधार समेत हो। त्यसैले खेलाडीको प्रतिभा पहिचान सँगै उनीहरूको प्रशिक्षण, स्वास्थ्य, सुरक्षा र भविष्य सुनिश्चित गर्न प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता देखिएको छ।

 

मधेशले राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा राखेको अवस्थामा खेलाडीको उत्साह र परिषद्को सक्रियतालाई पर्याप्त बजेट तथा व्यवहारिक सुविधाले साथ दिन सके मात्र ‘खेली मधेश, जिती मधेश’ भन्ने नाराले सार्थकता पाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  सरोज मल्लिक  राष्ट्रिय आवाज जनकपुरधाम, मंसिर ९ गते  मेची देखि महाकाली सम्म परिवर्तनको सन्देश बोकेर अघि बढि..

  दिपक श्रेष्ठ मण्डल  महोत्तरी, मंसिर ६ गते  लोहरपट्टी नगरस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि महदैया टोलीले..

  राष्ट्रिय आवाज  मंसिर ५ गते  बेनीपट्टीमा मिथिला विभूति स्मृति पर्व समारोह भव्य रूपमा सुरु भएको छ। समारोहकà..

  दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय अवाज जनकपुरधाम, मंसिर ५ गते  श्री सारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, जनकप..

दिपक श्रेष्ठ मण्डल  राष्ट्रिय आवाज जनकपुर धाम धनुषाको धनौजी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार दà..