राधाकृष्ण सार्वजनिक पुस्तकालयको नयाँ नेतृत्वले लियो शपथ
12 दिन पहिले प्रकाशित
सरोज मलिक / राष्ट्रिय आवाज
जनकपुरधाम, कार्तिक २८ गते
जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलिया स्थित श्री राधाकृष्ण सार्वजनिक पुस्तकालयका नवनिर्वाचित पदाधिकारीहरूको आज शनिबार शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।
नेपाल सरकारकी उपसभामुख माननीय रुबीकुमारी ठाकुरको प्रमुख आतिथ्य तथा संघीय सांसद राजकिशोर महतोको विशिष्ट आतिथ्यमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरूलाई शपथग्रहण गराइएको थियो। सोही अवसरमा निवर्तमान पदाधिकारी बाट नयाँ नेतृत्वलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख ठाकुरले पुस्तकालयका लागि एम्बुलेन्स उपलब्ध गराउन आवश्यक सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले आफ्नो गाउँका बासिन्दालाई दुई हात जोडेर सडक तथा नाला सफा राख्न आग्रह गर्दै सरसफाइलाई सबैको साझा जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–१४ का वडाध्यक्ष पुण्यप्रताप यादव, समाजसेवी इन्जिनियर प्रकाशचन्द्र साह, इन्जिनियर सुभाषचन्द्र साह, विद्याकरप्रसाद साह, पंकज मिश्र लगायतको उपस्थिति थियो। साथै विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय युवा, समाजसेवी, बुद्धिजीवी तथा शिक्षा प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।पुस्तकालयका उपाध्यक्ष विजय यादवले स्वागत मन्तव्य व्यक्त गर्दै पुस्तकालयको महत्व र सामाजिक योगदानबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा सार्वजनिक पुस्तकालयलाई पुस्तक पढ्ने स्थानमा मात्र सीमित नराखी शैक्षिक चेतना, बौद्धिक विकास, साहित्यिक गतिविधि तथा सामाजिक जागरणको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो।
नवनिर्वाचित नेतृत्वले पुस्तकालयको संस्थागत विकास, पठन संस्कृतिको प्रवर्द्धन तथा युवालाई ज्ञान र शिक्षासँग जोड्ने उद्देश्यसहित काम गर्ने अपेक्षा गरिएको छ। नयाँ नेतृत्वको आगमनसँगै पुस्तकालयले शैक्षिक, साहित्यिक तथा सामाजिक क्षेत्रमा थप सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।