नागरिकताविहीनहरूको आग्रह ः राष्ट्रपतिज्यू, विधेयकमा हाम्रो भविष्य छ, राजनीति नगरिदिनुस्’

4 वर्ष पहिले प्रकाशित

आश्विन ४, २०७९
वेलकम संवाददाता


काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद्‍बाट पास भएको नागरिकता विधेयक प्रमाणीकरणमा ढिलासुस्ती गरेको भन्दै नागरिकताविहीन युवाहरूले काठमाडौंको माइतीघरमा धर्ना सुरू गरेका छन् । उनीहरूले नागरिकता विधेयकसँग आफूहरूको भाग्य र भविष्य जोडिएको भन्दै विधेयक जारी गरिदिन राष्ट्रपतिसँग आग्रहसमेत गरेका छन् ।


संविधानले जन्मको आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले नागरिकता पाउने व्यवस्था गरे पनि कानुन नबन्दा नागरिकता पाउनबाट बञ्चित भएको भन्दै नागरिकताविहीन युवाहरूले संघर्ष समिति नै बनाएर लामो समयदेखि नागरिकता ऐन जारी गर्न माग गर्दै आएका छन् ।

आफूहरूले नागरिकता प्राप्त गर्न सक्ने गरी दुवै सदनबाट विधेयक पास भइसके पनि अब राष्ट्रपतिबाट संविधानको व्यवस्थाबमोजिम आफूहरूले नागरिकता पाउने अवस्थाबाट बञ्चित गर्ने प्रयास भइरहेको संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीले बताए । उनले राष्ट्रपति भण्डारीले मंगलबार साँझसम्ममा विधेयक प्रमाणीकरण गर्ने आशावादी रहेको बताए ।

‘हामीले अहिले होइन, वर्षौंदेखि आन्दोलन गरिरहेका छौं । प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि सबै नेताहरूलाई भेटेर हामीले हाम्रो माग भनेका छौं, हामीले संविधानविपरीतको माग राखेका पनि होइनौं । लामो संघर्षपछि संसद्का दुवै सदनबाट नागरिकता विधेयक पास भयो, तर राष्ट्रपतिज्यूले फिर्ता गरेर हाम्रो भविष्यलाई अन्धकार पारिदिनुभयो । फेरि त्यही विधेयक संसद्बाट पारित भएर उहाँको टेबलमा पुगेको छ,’ अध्यक्ष साफीले भने, ‘मेरो आग्रह छ– राष्ट्रपतिज्यू, नागरिकता विधेयकमा हामीजस्तै हजारौं नेपाली युवाको भविष्य अड्किएको छ, राजनीति नगरिदिनुस् ।’

उनले दुवै सदनबाट दुई–दुई पटक पास भएको विधेयक फेरि राष्ट्रपतिबाट रोक्ने काम भए आफूहरूले आत्महत्या गर्ने अवस्था सिर्जना हुने बताए । ‘नागरिकता नभए के–के भोग्नुपर्छ ? त्यो हामी भोग्नेलाई थाहा छ । नागरिकता नपाएर न पढ्न पाएको छ, न जागिर खान । एउटा सिम कार्ड पाउने अवस्था छैन, न बैंक खाता खोल्न मिल्छ,’ उनले अघि भने, ‘यतिसम्म कि हामीलाई गाउँबाट काठमाडौं आएर होटेलमा बस्नको लागि पनि नागरिकता देखाउनुपर्ने हुन्छ । हामीले के गरेर बाँच्ने ?’

उनले नागरिकता विधेयक पास भए नेपालीलाई भन्दा विदेशीलाई फाइदा हुने भनेर गलत प्रचार भएको बताए । धर्नामा रहेका अर्का एक युवाले राष्ट्रपति भण्डारीलाई आफूहरूको भविष्यसँग खेलवाड नगरिदिन आग्रह गरे ।

‘राष्ट्रपतिज्यू हाम्रो भविष्यसँग खेलवाड नगरिदिनुस् । तपाइँ विभिन्न दलका नेतालाई बोलाएर विधेयकबारे परामर्श गर्नुभएको छ । तर हामी पीडित हौं । पीडितलाई त कहिल्यै बोलाउनुभएन,’ उनले भने, ‘संविधान सबैका लागि हो । संविधानअनुसार हामीलाई नागरिकताविहीन बनाउन पाउनुहुन्न । तपाइँले हाम्रो भविष्यबारे सोचिदिनुस् ।’

संसद्का दुवै सदनबाट पास भएको नागरिकता विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा मंगलबार सकिँदैछ । मंगलबारसम्म राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरे त्यो कार्यान्वयनमा जाने छैन । ‘म र मेरो श्रीमती दुवैको नागरिकता छ, मेरो जन्मसिद्ध छ, श्रीमतीको अंगीकृत नागरिकता छ । तर मेरो छोरा छोरीले नागरिकता पाउन सकेको छैन,’ नागरिकता लिएर धर्नामा बसेका एक बुवाले भने, ‘विदेशीलाई नागरिकता दिन ल्याइएको हो भनेर अफवाह फैलाइएको छ । त्यसले हामीजस्ता वास्तविक नेपालीहरूले आफ्नो सन्तानलाई नागरिकता दिलाउन सकेका छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  अर्जुन कुमार साह  जनकपुर धाम, चैत्र ६ गते  धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवामा मुसहर समुदा..

  दीपक श्रेष्ठ मंडल  जनकपुरधाम, चैत्र ६ गते रेन (RAIN) को आयोजनामा जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी एक महत्वप..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, चैत्र ६ गते जनकपुरधाम–२४ स्थित श्री गोग्ल प्रसाद नमूना माध्यमिक विद्यालयमा आ..

  राष्ट्रिय आवाज  चैत्र ५ गते  आजमगढ — सन्त निरंकारी मिशनको आयोजनामा निरंकारी यूथ फोरमअन्तर्गत यूथ सिम्पो..

  राष्ट्रिय आवाज  जनकपुरधाम, चैत्र ५ गते धनुषाको यदुकहा बजारमा गरिएको आकस्मिक बजार अनुगमनले उपभोक्ता माथि हु..