वीरगञ्जमा विश्व साइकल दिवस मनाइयो स्वास्थ्य, वातावरण र जनचेतनाको सन्देश दिँदै साइकल रयाली सम्पन्न
1 महीना पहिले प्रकाशित

राष्ट्रिय आवाज समाचार दाता
वीरगञ्ज, जेठ २० गते
विश्व साइकल दिवसको अवसरमा भारतको महावाणिज्य दूतावास, वीरगञ्जको पहलमा साइकल रयाली सम्पन्न भएको छ। रयालीमा वीरगञ्ज साइकलिङ क्लब, बारा राइडर्स एशोसिएसन, नेपाल इनोभेटिभ सोसाइटी, जीतपुर सिमरा-बारा, र प्रिमिनिस्टी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजनामा नागरिक समाज, विद्यार्थी, शिक्षक, र सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
महावाणिज्य दूतावासको परिसरबाट सुरु भएको रयालीमा झन्डै ७५ जना सहभागी थिए। रयाली माइस्थान, आदर्शनगर, नारायणी अस्पताल, रजत जयन्ती चौक हुँदै भारत-नेपाल सीमा नजिकको शंकराचार्य गेट सम्म पुगेको थियो। त्यही बाटो हुँदै पुनः दूतावास फर्केर कार्यक्रम समापन गरिएको थियो।
कार्यक्रमको प्रमुख उद्देश्य मानव स्वास्थ्यमा साइकल चलाउने फाइदाबारे जनचेतना फैलाउनु, वातावरण संरक्षणमा यसको योगदानबारे सचेतना बढाउनु र साइकललाई शहरी परिवहनको वैकल्पिक माध्यमको रूपमा प्रवर्द्धन गर्नु रहेको आयोजक संस्थाहरूले जनाएका छन्।
"साइकल प्रयोग गर्दा न केवल शरीर स्वस्थ हुन्छ, यसले इन्धनको बचत र वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत भूमिका खेल्छ," वीरगञ्ज साइकलिङ क्लबका सदस्य रमेश यादवले भने।
दूतावासका एक अधिकारीका अनुसार, भारत-नेपालबीचको मैत्री सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सामाजिक र जन स्वास्थ्यसम्बन्धी यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिनेछ।