जनकपुरको समग्र विकासका लागि सबैको हातेमालो आवश्यक : वडाध्यक्ष झा
28 दिन पहिले प्रकाशित

राष्ट्रिय आवाज
जनकपुरधाम, जेष्ठ ३० गते
जनकपुरधाम उपमहानगरपालिका–४ का वडाध्यक्ष सुरेश झाले धार्मिक, सांस्कृतिक तथा राजनीतिक हिसाबले विशेष महत्व बोकेको जनकपुरधामको समग्र विकासका लागि “सबै पक्षको हातेमालो र जिम्मेवारीबोध आवश्यक” रहेको बताएका छन्।
आज शुक्रबार सञ्चारकर्मीहरू सँग कुराकानी गर्दै वडाध्यक्ष झाले सहरको सौन्दर्य र स्वच्छतामा नागरिकको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे। “केही मानिसहरूले फोहोर नालामा फ्याँक्ने, सडक छेउमा जुनसुकै बेला फोहोर राख्ने प्रवृत्तिका कारण नगरको सुन्दरता प्रभावित भइरहेको छ,” उनले भने।
वडाध्यक्ष झाले नगरपालिका र सरोकारवाला निकायले फोहोर व्यवस्थापनका लागि तोकेको स्थान र समयलाई पालना गर्न नागरिकलाई आग्रह गरे।
उनले जनकपुरधामका प्रमुख (मेयर) जनचासोका विषयमा प्रभावकारी समाधान दिन नसकेको टिप्पणी गर्दै नगर सरकार अझ जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याए।
*शिक्षाको स्थितिप्रति चिन्ता
अर्काे प्रसङ्गमा वडाध्यक्ष झाले जनकपुरधाम विगतमा देशभरका शिक्षार्थीहरूका लागि आकर्षणको केन्द्र रहेको स्मरण गर्दै हाल शिक्षाको अवस्था कमजोर हुँदै गएको प्रति चिन्ता व्यक्त गरे।
हजारौ विद्यार्थी जनकपुर धामको राराब क्याम्पसमा “हिमाल, पहाड, तराईका विद्यार्थी यहाँ पढ्न आउँथे। अहिले त्यो स्थिति रहेन,” उनले भने, “शैक्षिक गुणस्तरको सुधारका लागि स्थानीय तह, विद्यालय र अभिभावक सबै मिलेर पहल गर्न जरुरी छ।”
*राजनीतिक अनुभव र प्रतिबद्धता
राजनीतिक जीवनमा तीन दशकभन्दा बढी समय विताएको उल्लेख गर्दै उनले जनताको समस्या समाधान गर्नु आफ्नो प्राथमिक जिम्मेवारी भएको बताए। “म जनताको सेवक हुँ। कुनै पनि बेला सम्पर्क गर्न सक्नुहुन्छ,” वडाध्यक्ष झाको भनाइ थियो।
नगर विकासमा सरोकारवाला, नागरिक र स्थानीय सरकारको साझा प्रयास आवश्यक रहेको उनको जोड थियो।