वडा तह सम्म क्षयरोग विरुद्ध सचेतना: जनकपुरधाम वार्ड ४ मा एक दिने अभिमुखीकरण सम्पन्न
25 दिन पहिले प्रकाशित

राष्ट्रिय आवाज
जनकपुरधाम, असार ३ — राष्ट्रिय आवाज
‘क्षयरोगमुक्त नेपाल’ अभियानलाई प्रभावकारी बनाउन जनकपुरधाम उप-महानगरपालिकाले वडा स्तरमै सचेतना फैलाउने उद्देश्यसहित वडा समिति सदस्यहरूलाई लक्षित गर्दै एक दिने अभिमुखीकरण तालीम सम्पन्न गरेको छ।
जनकपुरधाम उपमहानगरपालिका–४ मा आयोजित उक्त तालीममा सहभागीहरू लाई क्षयरोगको पहिचान, लक्षण, रोकथाम र उपचारका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। तालीममा स्वास्थ्यकर्मी, वडा प्रतिनिधि र सरोकारवाला पक्षको उपस्थिति रहेको थियो।
स्वास्थ्य शाखाका स्वास्थ्य कर्मी विजय साहका अनुसार, तालीमको मूल उद्देश्य वडा समिति र स्थानीय तहका जनप्रतिनिधिहरू लाई क्षयरोग सम्बन्धी ज्ञान दिनु मात्रै नभई समुदायमा सक्रियता बढाउनु पनि हो। “क्षयरोग केवल स्वास्थ्य समस्या होइन, यसले सामाजिक र आर्थिक पक्षमा पनि असर पार्छ,” स्वास्थ्यकर्मीले भने, “स्थानीय तहको संलग्नता विना यसलाई नियन्त्रण गर्न सकिँदैन।”
कार्यक्रममा सहभागीहरूलाई क्षयरोग परीक्षणको प्रक्रिया, औषधि सेवनमा नियमितता, संक्रमितको ट्र्याकिङ प्रणाली तथा समुदायमा जनचेतना फैलाउने विधिहरूका बारेमा व्यवहारिक जानकारी दिइएको थियो। तालीममा सहभागी जनप्रतिनिधिहरूले स्थानीय समुदायमा ‘घरदैलो अभियान’ सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।
जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजन गरेको उक्त कार्यक्रममा ‘END TB’ को राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्देशलाई आत्मसात् गर्दै समुदायस्तरमै रोग नियन्त्रणमा जोड दिने रणनीति अवलम्बन गरिने जनाएको छ।