नेता होइन, जनकपुरको बेटा हुँ : पूर्व राज्य मन्त्री संजय
6 घन्टा पहिले प्रकाशित

मोनु गुप्ता,राष्ट्रिय आवाज
जनकपुरधाम, भदौ २६ गते
दुई पटक प्रत्यक्ष निर्वाचित धनुषाका पूर्व राज्य मन्त्री संजय साह (टकला) आफ्नो निजी निवास जनकपुरधाम फर्किएपछि स्थानीय राजनीतिक माहोल तातेको छ। करिब १२ वर्ष लामो समय जेलजीवन बिताएका साहले आफू भागेर नभई युवाको आग्रहमा बाहिर आएको प्रष्ट पार्दै, “सरकारले भने फर्कन तयार छु” भने।
पत्रकारहरूसँगको कुराकानीमा उनले भावुक हुँदै भने, “म नेता होइन, जनकपुरको बेटा हुँ। मेरो लागि राजनीति व्यापार होइन, जनताको सेवा गर्ने माध्यम हो।”
* युवाको आग्रह र स्वागत
साह जनकपुर आइपुग्दा उनलाई स्थानीय युवाले उत्साहपूर्वक स्वागत गरेका थिए। जेन–जीका युवाले नै उनलाई बाहिर जान आग्रह गरेको भन्दै उनले आफूलाई दिएको सद्भाव र समर्थन प्रति आभार व्यक्त गरे।
* राजनीतिक पृष्ठभूमि र चर्चा
संजय साह मधेस–केन्द्रित राजनीतिक आन्दोलन हुँदै राज्य मन्त्रीसम्म पुगेका चर्चित पात्र हुन्। जनकपुरमा साहको लोकप्रियता अझै बलियो रहेको देखिन्छ। स्थानीयस्तरमा विशेष गरी युवाबीच उनको प्रभाव उच्च मानिन्छ।
उनको फर्काइ सँगै जनकपुरमा नयाँ राजनीतिक समीकरणबारे चर्चा सुरु भएको छ। समर्थकले उनलाई ‘साहसिक नेता’को रूपमा चित्रण गरिरहेका छन् भने आलोचकले उनको भूमिका बारे आपराधिक विभिन्न प्रश्न उठाइरहेका छन्।