जनकपुरधाम–१४ मा अनलाइन मतदाता नाम दर्ता सेवा सुरु, वडाबासी उत्साहित
2 दिन पहिले प्रकाशित
भागचरण यादव
जनकपुरधाम, कार्तिक २९ गते
जनकपुरधाम उपमहानगरपालिका–१४ मा मतदाता नामावलीमा नाम छुटेका नागरिकका लागि अनलाइन नाम दर्ता सेवा सुरु गरिएको छ। लायन्स क्लब अफ जनकपुरधाम, लायन्स क्लब अफ जनकपुरधाम गर्गी र लियो क्लब अफ जनकपुरधाम क्यापिटलको संयुक्त आयोजनामा तथा प्राविधिक सहयोगमा सञ्चालन भएको यो सेवाले स्थानीयवासीलाई आफ्नै वडाबाट सजिलै नाम दर्ता गराउन सक्ने सुविधा उपलब्ध गराएको छ।
बिहान ११ बजेदेखि नै वडा कार्यालयमा सेवाग्राहीको भीड लागेको थियो। नागरिकता तथा राष्ट्रिय परिचयपत्र सहित पुगेका स्थानीयको विवरण कम्प्युटर अपरेटरहरूले क्रमशः अनलाइन प्रणालीमार्फत दर्ता गर्दै थिए। महिलादेखि युवा तथा ज्येष्ठ नागरिकसम्म सक्रिय रूपमा सहभागी भएपछि वडाको वातावरण चहलपहलपूर्ण बनेको थियो।
वडाध्यक्ष पुण्य प्रताप यादवले अनलाइन सेवा सुरु भएपछि वडाबासीका लागि नाम दर्ता र अद्यावधिक प्रक्रिया अत्यन्त सहज भएको बताए।
“मतदाता नामावली अद्यावधिक गर्न स्थानीयस्तरमै पहुँचयुक्त वातावरण बनाउन यो अभियान अघि बढाइएको हो। आवश्यक कागजातसहित समयमै उपस्थित भई सबै वडावासीले सेवा लिन आग्रह गर्दछु,” उनले भने।
संयुक्त रूपमा अगाडि बढाइएको यो अभियानबाट छूटिएका मतदातालाई दर्ता तथा विवरण संशोधनमा प्रभावकारी रूपमा सहजीकरण हुने अपेक्षा गरिएको छ। कार्यक्रममा लायन्स क्लब अफ जनकपुरधामका पूर्व अध्यक्ष विद्याकर प्रसाद साह, गोपाल प्रसाद साह (MJF), सदस्य लक्ष्मी नारायण साह, लायन्स क्लब गर्गीकी अध्यक्ष तथा लियो क्लब प्रमुख सल्लाहकार आशा कुमारी साह, सचिव सरिता साह, सदस्य प्रवीण ठाकुर, वडा नं. १४ का पूर्व वडाध्यक्ष श्री प्रसाद यादव, समाजसेवी रामप्रबोध यादवल गायतको उल्लेखनीय उपस्थिति थियो।
आयोजकहरूका अनुसार कार्यक्रमको मुख्य उद्देश्य वडा नं. १४ का स्थानीयवासीलाई घरमै नजिकबाट अनलाइन मतदाता नामावली दर्ता तथा विवरण संशोधनमा पहुँच बढाउने हो। समाजसेवी रामप्रमोद यादव र वडाध्यक्ष पुण्य प्रताप यादवको पहलमा सञ्चालन गरिएको यो अभियानमार्फत नागरिकले निःशुल्क सेवा र आवश्यक प्राविधिक सहयोग प्राप्त गरेका थिए।
यस अभियानले स्थानीयवासीको मताधिकार प्रति पहुँचलाई थप सहज, छरितो र व्यवस्थित बनाएको जनाइएको छ।