१८४शाखाको प्रतिनिधित्व सहित जेसीआई महाधिवेशन जनकपुरमा
6 दिन पहिले प्रकाशित
माेनु गुप्ता
जनकपुरधाम, २२ मंसिर
जेसीआई नेपालको ५२औँ राष्ट्रिय महाधिवेशन आगामी पुस पहिलो सातादेखि जनकपुरधाममा हुने भएको छ। देशभरका १८४ शाखाका पदाधिकारी तथा केही अन्तर्राष्ट्रिय प्रतिनिधिसहित करिब चार हजार सहभागीहरू जनकपुरधाम आइपुग्ने भएकाले यसले शहरको पर्यटन, व्यापार र स्थानीय अर्थतन्त्रमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ।
जेसीआई जनकपुरधामका अध्यक्ष मुकेश कुमार साहले सोमबार पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए। उनका अनुसार पुस ४ देखि ७ गतेसम्म तिरहुतिया गाछीमा आयोजना हुने महाधिवेशनका लागि संरचनात्मक, प्राविधिक, सुरक्षा तथा आतिथ्यसम्बन्धी तयारी तीव्र रूपमा भइरहेको छ।
राष्ट्रिय महाधिवेशनका प्रबन्ध निर्देशक तथा जेसीआई जनकपुरधामका पूर्व अध्यक्ष सुधिर पंजियारले १८४ शाखाबाट प्रतिनिधिहरू आउने र केही अन्तर्राष्ट्रिय व्यक्तित्वहरू समेत सहभागी हुने बताए।
उनका अनुसार, “चार दिनसम्म चल्ने महाधिवेशनमा करिब चार हजार अतिथिहरू भित्रनेछन्। ठूलो संख्यामा सहभागी हुने भएकाले हरेक व्यवस्थालाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।”
* पर्यटन प्रवर्द्धनमा विशेष जोड
आयोजकका अनुसार यस वर्षको महाधिवेशन जनकपुरधामको सांस्कृतिक, धार्मिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले जनकपुरमै आयोजना गरिएको हो।
जनकपुरधामको जनक–जानकी संस्कृति, रामजानकी मन्दिर, धनुषाधाम, गंगा सागर, जनकपुर रेल, मिथिला कला र स्थानीय खानाहरूको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजक टोलीले बताएको छ।
अतिथिहरूलाई जनकपुरका प्रमुख पर्यटकीय स्थलहरूको भ्रमण, सांस्कृतिक प्रदर्शन, मिथिला कला प्रदर्शनी तथा स्थानीय उत्पादनको परिचय गराउने कार्यक्रमहरू पनि समावेश गर्ने तयारी गरिरहेको छ।
आयोजकका अनुसार, “महाधिवेशनले जनकपुरधामलाई ठूलो पर्यटन हबको रूपमा चिनाउन मद्दत गर्नेछ। शहरको होटल व्यवसाय, यातायात, बजार तथा स्थानीय उत्पादनमा सीधा प्रभाव पर्न जान्छ।”
* आर्थिक प्रभाव र खर्च
कार्यक्रम सञ्चालनका लागि करिब ३ करोड ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। चार हजारभन्दा बढी सहभागीको आगमनले जनकपुरधाममा लाखौँ रुपैयाँ बराबरको व्यापारिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ, जसले स्थानीय व्यवसायी र पर्यटन क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्याउनेछ।
* प्रमुख अतिथि चयनमा अन्योल
उद्घाटन सत्रका प्रमुख अतिथि चयनका सम्बन्धमा केही अन्योल रहेको आयोजक टोलीले जनाएको छ। राजनीतिक अस्थिरता, उच्च तहका व्यक्तिहरूको व्यस्तता तथा स्वास्थ्य अवस्थाका कारण निर्णय ढिलो भएको प्रबन्ध निर्देशक पंजियारले बताए।
उनका अनुसार प्रधानमन्त्री सुशिला कार्की लाई प्रमुख अतिथिमा आमन्त्रण गर्ने प्रयास भइरहेको भए पनि केही प्राविधिक चुनौती रहेका छन्। यता राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य नभएकाले निर्णयमा ढिलाइ भएको बताइएको छ।
* जनकपुरमा पाँचौँ पटक महाधिवेशन
जेसीआईका सल्लाहकार रमेश साहले जनकपुरधाममा यसअघि चार पटक महाधिवेशन भव्य रूपमा सम्पन्न भइसकेको जानकारी दिए।
उनका अनुसार
१९७७ : अध्यक्ष लक्ष्मी बहादुर निराला
१९९३ : अध्यक्ष शम्भु साह
२००३ : अध्यक्ष सन्तोष साह
२०१८ : अध्यक्ष जितेन्द्र महासेठ
को नेतृत्वमा महाधिवेशन जनकपुरमै सम्पन्न भएको थियो।
यसपटक पाँचौँपटक जनकपुरधामले महाधिवेशनको जिम्मेवारी पाउनुले शहरको संगठनात्मक क्षमता सँगै पर्यटन सम्भावना लाई पनि पुष्टि गरेको उनले बताए।
rastriyaawaj@gmail.com