पोखरामा पुस १३ देखि सडक महोत्सव, जनकपुरधाममा प्रचार अभियान

21 घन्टा पहिले प्रकाशित

राष्ट्रिय आवाज

जनकपुरधाम, २९ मंसिर ।

 

पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–प्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ पोखराका पर्यटन व्यवसायीहरूको टोलीले सीतानगरी जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै पोखरा भ्रमणका लागि निमन्त्रणा गरेको छ।

 

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने २७औँ पोखरा सडक महोत्सवको प्रचार अभियान अन्तर्गत रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराको टोली जनकपुरधाम आइपुगेको हो। टोलीले आयोजित पत्रकार सम्मेलनमार्फत आम नागरिक, पर्यटन व्यवसायी तथा सञ्चारकर्मीहरूलाई महोत्सवमा सहभागी हुन आग्रह गरेको छ।

 

पत्रकार सम्मेलनमा बोल्दै महोत्सव संयोजक वसन्त गौतमले विगत २६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको पोखरा सडक महोत्सव यस वर्ष पनि निरन्तरताका साथ सञ्चालन हुन लागेको जानकारी दिए। उनका अनुसार महोत्सव पुस १३ गतेदेखि १७ गतेसम्म फेवा तालको किनारमा रहेको पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुनेछ।

 

पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने प्रमुख गन्तव्यका रूपमा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले हरेक वर्ष यो महोत्सव आयोजना हुँदै आएको गौतमले बताए। ‘पोखराको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आतिथ्य सत्कारलाई एकैसाथ प्रस्तुत गर्ने यो महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ,’ उनले भने।

 

आयोजक समितिका अनुसार महोत्सवमा विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकार समेटिएको फुड फेस्टिभल, चर्चित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको लाइभ कन्सर्ट, लोकदोहोरी कार्यक्रम, फेवा तालमा आयोजना हुने बोट रेस तथा टग अफ वार प्रतियोगिता लगायतका आकर्षक कार्यक्रमहरू समावेश गरिनेछ। साथै पर्यटन प्रवर्द्धनसम्बन्धी टक शो र फोटो प्रदर्शनीले महोत्सवलाई थप आकर्षक बनाउने विश्वास लिइएको छ।

 

रेवान पोखराका प्रतिनिधिहरूले पोखरा सडक महोत्सव मनोरञ्जनको माध्यम मात्र नभई स्थानीय उत्पादन, कला, संस्कृति र व्यवसाय प्रवर्द्धनको साझा मञ्चका रूपमा स्थापित हुँदै आएको बताए। महोत्सव अवधिभर होटल, रेष्टुरेन्ट, यातायात, हस्तकला तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

 

पत्रकार सम्मेलनमार्फत सञ्चारमाध्यमको भूमिकालाई विशेष महत्व दिँदै महोत्सवसम्बन्धी सूचना, उद्देश्य तथा कार्यक्रमहरू व्यापक रूपमा प्रसारण गरिदिन सहयोगको अपेक्षा गरिएको छ। सञ्चारकर्मीहरूसँगको सहकार्यले महोत्सवको सन्देश देशभर तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन मद्दत पुग्ने आयोजकहरूको विश्वास छ।

 

आयोजक टोलीले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षलाई विशेष र स्मरणीय बनाउन पोखरा सडक महोत्सवमा सहभागी भई पोखराको कला, संस्कृति, स्वाद र उत्सवलाई नजिकबाट अनुभव गर्न सबैलाई आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

राष्ट्रिय आवाज  धनुषा, २९ मंसिर – लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, धनुषा जिल्ला समितिको जिल्ला स्तरीय विस..

  विशाल साह  ललितपुर, २९ मंसिर   खाद्य तथा कृषि संगठन (एफएओ) र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको संयुक्त आयो..

राष्ट्रिय आवाज जनकपुरधाम, २९ मंसिर ।   पोखरा भ्रमण वर्ष २०२५ तथा आउँदै गरेको २७औँ पोखरा सडक महोत्सवको प्रचार–..

  राष्ट्रिय आवाज  जनकपुरधाम, २८ मंसिर । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) जनकपुरधाम उप–महानगरपालिकाको ..

     राष्ट्रिय आवाज सिरहा, मंसिर २८ गते   ग्लोबल एक्सन नेपालको आयोजनामा सिरहा नगरपालिका–१७ माडरमा सामाज..