निरंकारी मण्डल द्वारा जनकपुरधाम रेल्वे ट्रयाक सरसफाइ कार्यक्रम
2 घन्टा पहिले प्रकाशित
सन्तोष महतो
जनकपुरधाम, पुस ५ गते (शनिबार)
निरंकारी मण्डल जनकपुरधामको आयोजनामा आज शनिबार सामाजिक उत्तरदायित्व अन्तर्गत जनकपुरधाम रेल्वे स्टेशन आसपासको क्षेत्रमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
धार्मिक तथा ऐतिहासिक नगरी जनकपुरधाम लाई सफा, स्वच्छ र सुन्दर बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा निरंकारी मण्डलका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
सन्त निरंकार मण्डली जनकपुरधामका अध्यक्ष बेचु रजकले आन्तरिक स्वच्छता मात्र होइन, बाहिरी सरसफाइ पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै सुन्दर र सभ्य समाज निर्माणका लागि सबैको हातेमालो अपरिहार्य रहेको बताए।
कार्यक्रमअन्तर्गत रेल्वे ट्रयाक तथा आसपासका क्षेत्रको सरसफाइ गरिएको थियो। यसमार्फत वातावरण संरक्षण र सामाजिक सचेतनाको सन्देश प्रवाह गरिएको आयोजकले जनाएका छन्।
सरसफाइ कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, सशस्त्र प्रहरी बल (एपीएफ), महिला, युवा तथा स्थानीय स्वयंसेवकहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजकले जनकपुरधाम लाई स्वच्छ राख्न सबै नागरिकले आ–आफ्नो स्थानबाट जिम्मेवारी वहन गर्नुपर्नेमा जोड दिएका छन्।
सामाजिक सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता सहित निरंकारी मण्डलले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ।