बर्दिवासमा गौतमले सुरु गरे शिक्षा अक्षय कोष
6 घन्टा पहिले प्रकाशित
जीवनराज दाहाल
बर्दिवास, पौष ५ गते
बर्दिवास–१४ स्थित एकीकृत नमुना मुसहर बस्तीका बालबालिकाको शिक्षामा सहयोग पुर्याउने उद्देश्य सहित ‘गौतम होटल शिक्षा अक्षय कोष’ स्थापना गरिएको छ । समाजसेवी हिरालाल गौतमले आफ्नो ५० औँ जन्मदिनको अवसर पारेर रु ३ लाख ११ हजार रुपैयाँ बराबरको अक्षय कोष स्थापना गरी उक्त रकम हस्तान्तरण गरेका हुन ।
“तपाईं हाम्रो अभियान, शिक्षामा योगदान” भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त अक्षय कोष गौतम होटलको पहलमा स्थापना गरिएको हो । आयोजकका अनुसार कोषबाट पछाडि पारिएका समुदायका बालबालिकाको शैक्षिक पहुँच विस्तार तथा दीर्घकालीन सहयोग गर्ने लक्ष्य लिइएको छ ।
कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले हिरालाल गौतमलाई ५०औँ जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै शिक्षामा केन्द्रित उनको पहलले समाजको गरिमा बढाएको प्रतिक्रिया दिएका थिए । व्यक्तिगत खुसीलाई सामाजिक दायित्वसँग जोड्नु प्रेरणादायी कार्य भएको उनीहरूको भनाइ थियो ।
स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा सम्पन्न कार्यक्रममा वक्ताहरूले शिक्षा नै सामाजिक परिवर्तनको आधार भएको उल्लेख गरे । उनीहरूले यस किसिमका अक्षय कोषमार्फत गरिने सहयोगले मुसहर बस्तीका बालबालिकालाई उज्यालो भविष्यतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।