जनकपुरधाममा पाँचौँ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता सुरु हुँदै खेलमार्फत प्रतिभा खोजी र समानताको सन्देश
1 महीना पहिले प्रकाशित
राष्ट्रिय आवाज
जनकपुरधाम, ८ पुस, मंगल बार
धार्मिक, सांस्कृतिक र ऐतिहासिक पहिचानले चिनिने जनकपुरधाम पछिल्ला वर्षहरूमा खेलकुद गतिविधिका कारण पनि चर्चा कमाउन थालेको छ। यही क्रमलाई निरन्तरता दिँदै विद्यालय स्तरका खेलाडीको प्रतिभा पहिचान र क्रिकेटको विकासलाई लक्ष्य गरेर जनकपुरधाममा पाँचौँ अन्तरविद्यालय क्रिकेट प्रतियोगिता बुधबार देखि सुरु हुन लागेको छ।
जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको यो प्रतियोगिता स्थानीय रंगभूमि मैदानलाई केन्द्र बनाएर आयोजना गरिएको हो। विद्यालयस्तर बाटै खेलाडी उत्पादन गर्ने दीर्घकालीन उद्देश्यसहित सुरु गरिएको प्रतियोगिता आज जनकपुरधामको खेलकुद पहिचानको एउटा महत्वपूर्ण आधार बन्दै गएको छ।
प्रतियोगिताको पूर्वसन्ध्यामा मंगलबार गरिएको ट्रफी अनावरण कार्यक्रम आफैँमा सन्देशमूलक बन्यो। जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साह र उपमहानगर पालिकामा कार्यरत सफाइ कर्मचारी सिताराम मेस्तरले संयुक्त रूपमा ट्रफी अनावरण गरे। कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीलाई एउटै मञ्चमा उभ्याएर समाजका सबै वर्ग र पेशाप्रति सम्मानको सन्देश प्रवाह गरिएको आयोजकको भनाइ छ।
ट्रफी अनावरण समारोहमा नगर प्रमुख साहले खेलकुद शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अपरिहार्य रहेको उल्लेख गर्दै खेलकुद विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले विद्यालय स्तरमै खेलाडी उत्पादन गर्ने उद्देश्यले राष्ट्रिय क्रिकेट खेलाडी हरिशंकर साहले लिएको पहल प्रशंसनीय रहेको बताए।
राष्ट्रिय क्रिकेट खेलाडी हरिशंकर साहका अनुसार खेल केवल प्रतिस्पर्धाको माध्यम मात्र नभई समाज रूपान्तरणको प्रभावकारी उपकरण पनि हो। “खेलमार्फत सम्मान, समावेशिता र समानताको सन्देश व्यवहारमै लागू गर्न सकिन्छ भन्ने देखाउन ट्रफी अनावरण कार्यक्रम फरक ढंगले आयोजना गरेका हौँ,” उनले भने।
यस वर्षको प्रतियोगितामा जनकपुरधाम सहित आसपासका क्षेत्रका २४ वटा विद्यालयका टिमहरूले सहभागिता जनाउनेछन्। प्रतियोगिताको उद्घाटन खेल बुधबार मदर टेरेसा स्कुल र याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय ज्ञानकुप बीच हुनेछ। गत संस्करणमा मदर टेरेसा स्कुलले उपाधि जित्दै विद्यालयस्तरको क्रिकेटमा आफ्नो प्रभुत्व देखाएको थियो।
भिजन नेपालका अध्यक्ष युवा नेता अम्भु प्रसाद साह भन्छन्, “विद्यालयस्तर बाटै खेल र खेलाडीको विकास गर्नु नै प्रतियोगिताको मुख्य उद्देश्य हो। स्थानीय स्तरमै खेलाडी उत्पादन गर्ने, प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने र उनीहरूलाई दीर्घकालीन रूपमा राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्यसहित हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएका छौँ।”
प्रतियोगिताका खेलहरू बाह्रविघा मैदानमा तय गरिएको तालिकाअनुसार सञ्चालन हुनेछन्। आयोजकले खेलप्रेमी दर्शक, अभिभावक तथा सरोकारवालालाई खेल अवलोकन गरी विद्यालयस्तरका खेलाडीलाई हौसला प्रदान गर्न आग्रह गरेका छन्।
खेलकुद पूर्वाधार र अवसरको अभावका बीच पनि निरन्तर प्रयास मार्फत सञ्चालन हुँदै आएको यो प्रतियोगिता जनकपुरधामका लागि मात्र होइन, समग्र मधेस क्षेत्रका उदीयमान खेलाडीहरूका लागि आशाको मञ्च बन्दै गएको छ। क्रिकेट मार्फत प्रतिभा खोजी, अनुशासन, आत्मविश्वास र समानताको अभ्यास गराउँदै अघि बढिरहेको यो पहलले आगामी दिनमा राष्ट्रिय खेलकुदमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ।