सामाजिक–धार्मिक सद्भाव बिगार्ने गतिविधि नगर्न आग्रह_ डीआईजी थपलिया
21 दिन पहिले प्रकाशित
ईन्द्र भुषण यादब
जनकपुरधाम, पुस २४ गते
मधेश प्रदेश प्रहरी कार्यालयले सामाजिक तथा धार्मिक सद्भावमा खलल पुर्याउने गतिविधि नगर्न सर्वसाधारण सँग आग्रह गरेको छ।
प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाले सामाजिक सञ्जाल मार्फत धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता खल्बल्याउने किसिमका अभिव्यक्ति तथा गतिविधि नगर्न अनुरोध गरेका छन्। राष्ट्रिय आवाज सँगको कुराकानीमा उनले सामाजिक मर्यादा र सार्वजनिक शान्ति सुव्य वस्थामा असर पर्ने कुनै पनि कार्य सह्य नहुने बताए।
डीआईजी थपलियाले सामाजिक सद्भावमा आँच पुर्याउने कार्य गरे कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएका छन्।
पछिल्लो समय तराई–मधेशका केही जिल्लामा केही व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दै द्वेष पूर्ण र भ्रामक अभिव्यक्ति दिएको पाइएकाले यसले धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावमा गम्भीर असर पार्न सक्ने भन्दै प्रदेश प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रदेश प्रहरी कार्यालयले सबै नागरिकलाई संयमित र जिम्मेवार ढंगले सामाजिक सञ्जाल प्रयोग गर्न तथा आपसी सद्भाव कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।