मधेशका असहाय महिलाको कानुनी आवाज बनिन् अधिवक्ता रिंकु

7 दिन पहिले प्रकाशित

 

ईन्द्र भुषण यादव

जनकपुरधाम, माघ ८ गते

मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल्क कानुनी सहायता प्रदान गर्दै आएकी अधिवक्ता रिंकु कुमारी यादव पछिल्ला वर्षहरूमा चर्चित बनेकी छन्। गरिब, असहाय, दलित, नागरिकता विहीन तथा हिंसामा परेका महिलाहरूका मुद्दामा बहस पैरवी गर्दै उनले न्यायिक प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।

महोत्तरीकी निहारिका सिंह राजपूत (कुमारी आमा), एसिड पीडित जनकपुरकी आरती साह, दाइजो हिंसामा परेकी नेहा चौधरी तथा दाइजोका कारण मृत्यु भएको दाबी गरिएकी आरती साहका मुद्दा मधेशमा व्यापक रूपमा चर्चामा आएका घटनाहरू हुन्। २०७६ देखि २०८० साल बीच भएका यी घटनामा अधिवक्ता यादवले पीडितको पक्षबाट निःशुल्क बहस पैरवी गरेकी थिइन्। सम्बन्धित मुद्दाहरू अदालत बाट टुंगिएका छन् र पीडितहरूले न्याय पाएको बताइएको छ।

वि.स. २०७३ सालदेखि जनकपुर क्षेत्रलाई केन्द्र बनाएर वकालत पेशामा संलग्न यादवले असहाय महिलाहरूलाई कानुनी परामर्श, उजुरी तथा जाहेरी लेखन र अदालतमा बहस पैरवी निःशुल्क गर्दै आएकी छन्। उनका अनुसार आर्थिक रूपमा कमजोर पीडित लाई अन्य वकिलहरूले समेत आफू कहाँ पठाउने गरेका छन्।

जनकपुरधाम स्थित हुलाक कार्यालय नजिकै रहेको ‘आयांश ल चेम्बर’ बाट सेवा दिँदै आएकी यादव नियमित रूपमा जिल्ला अदालत धनुषा र उच्च अदालत जनकपुरमा बहसका लागि उपस्थित हुने गर्छिन्। विशेष गरी महिला हिंसाका मुद्दा लिएर पीडितहरू विभिन्न माध्यम बाट आफू समक्ष पुग्ने गरेको उनको भनाइ छ।

असहाय महिलाको पक्षमा निरन्तर कानुनी सहयोग गर्दै आएकी यादव लाई समाजमा ‘महिलावादी वकिल’का रूपमा पनि चिनिन थालिएको छ। यद्यपि, उनी आफूलाई केवल पेशागत दायित्व निर्वाह गरिरहेको वकिलका रूपमा हेर्ने बताउँछिन्।

महोत्तरी जिल्लाको एकडारा–बेला गाउँमा जन्मिएकी यादवको स्थायी घर वीरगञ्ज हो। उनले काठमाडौंबाट वित्त व्यवस्थापन तथा फौजदारी कानुन र न्यायमा स्नातकोत्तर अध्ययन पूरा गरेकी छन्। हाल उनी नेपाल बार एशोसिएशन जनकपुरकी सदस्य, प्रदेश कानुनी सहायता अधिकृत, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन धनुषाकी कोषाध्यक्ष तथा नेपाल बार एशोसिएशन केन्द्रीय कार्य समितिकी सदस्य रहेकी छन्।

महिला हिंसा न्यूनीकरण र पीडितलाई न्याय दिलाउने प्रयासमा उनको भूमिकालाई कानुनी क्षेत्रका सहकर्मीहरूले पनि सकारात्मक रूपमा हेर्ने गरेका छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १४ गते    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच..

  राष्ट्रिय आवाज जनकपुरधाम, माघ १३ गते — शहिद नगर पालिका अन्तर्गत श्री ज. ए. मा. वि. यदुकहामा शैक्षिक सुधारका माग..

  ईन्द्र भुषण यादब  जनकपुरधाम, माघ १३ गते आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै..

  ईन्द्र भुषण यादव जनकपुरधाम, माघ ८ गते मधेश प्रदेशमा महिला हिंसा तथा अपराध जन्य घटनामा पीडितको पक्षबाट निःशुल..

    राष्ट्रिय आवाज जनकपुरधाम, माघ ७ गते धनुषा चेम्बर अफ कमर्सका अध्यक्ष विजय कुमार साहले नेकपा (एमाले) का नेता म..