जनकपुरधाममा जलवायु परिवर्तनबारे अन्तरक्रिया, सहकार्यमा जोड

5 महीना पहिले प्रकाशित

 

दीपक श्रेष्ठ मंडल 

जनकपुरधाम, चैत्र ६ गते

रेन (RAIN) को आयोजनामा जनकपुरधाममा जलवायु परिवर्तनसम्बन्धी एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जलवायु परिवर्तनका चुनौती, प्रभाव तथा समाधानका उपायबारे गहन छलफल गरिएको थियो।

कार्यक्रममा मधेश प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालयका सचिव जीवनाथ पौडेलको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीको उपस्थिति रहेको थियो।

 

प्रमुख अतिथि मन्त्री शंकर प्रसाद चौधरीले जलवायु परिवर्तन आजको सबैभन्दा गम्भीर वैश्विक चुनौती बनेको उल्लेख गर्दै यसको असर नेपालजस्तो विकासशील देशले अझ बढी भोग्नुपरेको बताए। उनले बढ्दो तापक्रम, अनियमित वर्षा र प्राकृतिक विपद्का घटनाले कृषि, जलस्रोत तथा जनजीवनमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गरे।

उनले वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै प्रदेश सरकारले वन संरक्षण, हरियाली प्रवर्द्धन र दिगो विकासका कार्यक्रमहरू अघि बढाइरहेको जानकारी दिए। साथै, जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनका लागि सरकार, स्थानीय तह र समुदायबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिए।

डिस्कसन सत्रमा चार जना विज्ञ प्यानलिस्टहरूको सहभागिता रहेको थियो। विषयवस्तु विज्ञ तथा स्वतन्त्र अनुसन्धानकर्ता डा. विनोद भट्टले जलवायु परिवर्तनका वैज्ञानिक पक्ष र दीर्घकालीन असरबारे प्रकाश पारे। त्यसैगरी स्थानीय स्तरमा जलवायु मुद्दा सम्बोधन गर्न सक्रिय नागदेव यादवले समुदायस्तरका प्रयासहरूबारे जानकारी दिएका थिए।

स्थानीय तहको प्रतिनिधित्व गर्दै सिरहा नगरपालिकाका मेयर डा. नवीन यादवले स्थानीय सरकारको भूमिका र चुनौतीहरूबारे धारणा राखे भने प्रदेश वन निर्देशनालयका वन संरक्षण अधिकृत बेचन कुमार महतोले वन संरक्षण र वातावरणीय सन्तुलनका विषयमा आफ्ना विचार व्यक्त गरे।

कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम, अनियमित वर्षा तथा प्राकृतिक विपद्का जोखिमप्रति चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका लागि सबै तहबाट सहकार्य आवश्यक रहेको बताएका थिए। साथै, दिगो विकास, हरियाली प्रवर्द्धन तथा जनचेतना अभिवृद्धिमा जोड दिइएको थियो।

रेन संस्थाले यस्ता कार्यक्रममार्फत समुदायस्तरमै सचेतना फैलाउने र जलवायु परिवर्तन विरुद्ध सामूहिक पहललाई मजबुत बनाउने उद्देश्य राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते    साविकको रघुनाथपुर गाविस–हाल धनुषा जिल्ला सबैला नगरपालिका–..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ११ गते श्री राम युवा कमिटी, जनकपुरधामले आफ्नो ३६औँ स्थापना दिवस सामाजिक तथा से..

  डी एस मण्डल  जनकपुरधाम   जनकपुरधाम सुनचाँदी व्यवसायी संघको नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरण तथा ..

दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,भदौ ८ गते    बालविवाह अन्त्य, बालअधिकार संरक्षण तथा बालबालिका मैत्री नीति र बजेट..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, भदौ ८ गते    समुदाय स्तरमै सम्भावित रोग तथा स्वास्थ्य सम्बन्धी घटनाको प्रार..