जानकी नवमीमा जनकपुरधाममा भव्य धार्मिक कार्यक्रम हुने, ISKCON को तयारी पूरा
4 दिन पहिले प्रकाशित
मोनू गुप्ता
जनकपुरधाम, वैशाख ४ गते (शुक्रबार)
जानकी नवमी महा महोत्सवको अवसर पारेर मिथिलाको धार्मिक राजधानी जनकपुरधाममा यस वर्ष पनि भव्य धार्मिक कार्यक्रमहरू आयोजना हुने भएका छन्। अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ इसकोन नेपाल द्वारा आयोजना गरिने कार्यक्रम प्रति श्रद्धालुहरूमा उत्साह बढ्दो देखिएको छ।
आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष रामेश्वर दासले वैशाख ५ गतेदेखि ११ गतेसम्म श्रीमद्भागवत कथा आयोजना गरिने जानकारी गराएका छ्न। कथा दैनिक दिउँसो २ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ भने प्रत्येक दिन भक्तजनहरूका लागि प्रसाद वितरण गरिनेछ।
महा महोत्सवको प्रमुख आकर्षणका रूपमा वैशाख १३ गते भव्य जगन्नाथ रथयात्रा आयोजना गरिनेछ। रथयात्रा परिक्रमा सडक हुँदै कदम चोक, राममन्दिर र मुरली चोक पार गर्दै पुनः ईस्कोन परिसरमा समापन हुने कार्यक्रम तय गरिएको छ, जसले सहर भर धार्मिक माहोल थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
कथा वाचनका लागि अनन्त कृष्ण दास गोस्वामी महाराज सहभागी हुनेछन्, जसले भक्तजनहरू लाई आध्यात्मिक चेतना र जीवनोपयोगी सन्देश प्रदान गर्नेछन्।
यसै अवसरमा ईस्कोन मन्दिरको शिलान्यास समेत गरिने भएको छ। उपाध्यक्ष रमेश कुमार साहका अनुसार मन्दिर निर्माणको प्रारम्भिक चरणमा करिब २५ करोड रुपैयाँ लगानी हुने र दीर्घकालीन रूपमा करिब २ अर्ब रुपैयाँ बराबरको योजना अघि बढाइनेछ।
स्थानीय तहको तर्फबाट पनि परियोजनामा सक्रिय सहकार्य रहने जनाइएको छ। वडाध्यक्ष राघवेन्द्र साहका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेको ३ विघा १० कठ्ठा जमिन संस्थालाई उपलब्ध गराइएको छ, जसमा १ विघा क्षेत्र श्मशान घाटका लागि छुट्याइएको छ।
धार्मिक आस्था, सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्द्धन लाई एकसाथ अघि बढाउने उद्देश्यले आयोजना गरिने यस्ता कार्यक्रमहरूले जनकपुरधामको पहिचानलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ।