दलित विद्यार्थीका लागि निःशुल्क टियुशन सेन्टरको पहिलो वार्षिकोत्सव सम्पन्न
3 दिन पहिले प्रकाशित
राष्ट्रिय आवाज
जनकपुरधाम, ५ वैशाख
धनुषाको मिथिला बिहारी नगरपालिका–८, कचुरीमा सञ्चालन हुँदै आएको दलित विद्यार्थी लक्षित निःशुल्क टियुशन सेन्टरले आफ्नो पहिलो वार्षिकोत्सव शनिबार हर्षोल्लासका साथ सम्पन्न गरेको छ।
सावित्री सामुदायिक सिकाइ केन्द्रद्वारा सञ्चालित उक्त सेन्टरमा हाल करिब एक सय विद्यार्थी अध्ययनरत रहेको जनाइएको छ।
सुलेखा दासको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले शिक्षा नै सामाजिक रूपान्तरणको मूल आधार भएकोमा जोड दिएका छन्। उनीहरूको साझा निष्कर्ष थियो— “शिक्षा जति आर्जन गरिन्छ, उति नै प्रगतिको ढोका खुल्छ।” दलित समुदाय शिक्षा पहुँचबाट वञ्चित रहँदा ऐतिहासिक रूपमा पछाडि परेको उल्लेख गर्दै वक्ताहरूले अब शिक्षा नै सशक्तीकरणको मुख्य माध्यम बन्नुपर्ने धारणा व्यक्त गरे।
कार्यक्रममा विशेष रूपमा भीमराव अम्बेडकर को विचार र योगदानको चर्चा गरिएको थियो। वक्ताहरूले अम्बेडकरले अघि सारेको “शिक्षित बनौं, संगठित होऔं, संघर्ष गरौं” भन्ने मूल मन्त्र आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
कार्यक्रमका प्रमुख अतिथि मिथिला बिहारी नगरपालिका–८ का वडा अध्यक्ष जिवछ यादवले शिक्षा बिना समाजको समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै यस्ता निःशुल्क शैक्षिक पहल लाई स्थानीय तहले समेत सहयोग र प्रोत्साहन गर्नुपर्ने बताए। उनले भने, “शिक्षामा लगानी गर्नु भनेको भविष्यमा लगानी गर्नु हो। हामी सबै मिलेर प्रत्येक बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्छ।”
प्रमुख अतिथि यादवले सावित्री सामुदायिक सिकाइ केन्द्रकी शिक्षिका उर्मिला दासको प्रशंसा गर्दै उनी दलित समुदायमै रहेर समाजका लागि तथा विद्यार्थीहरूको शैक्षिक उन्नतिमा निरन्तर योगदान दिइरहेको उल्लेख गरे। विगत एक वर्षदेखि निःशुल्क रूपमा ट्युसन सञ्चालन गर्दै आएको उनको पहल उदाहरणीय रहेको उनले बताए।
कार्यक्रममा नेपाली काँग्रेसका नेता रामपलटन साह, इन्सेकका प्रदेश संयोजक राजु पासमान, राष्ट्रिय दलित पत्रकार संघ नेपालका प्रदेश अध्यक्ष कैलास दास, पत्रकार दीपक श्रेष्ठ मंडल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अम्बु प्रसाद साह, शैलेन्द्र साह लगायत नागरिक समाजका प्रतिनिधिहरूले यस्ता शैक्षिक पहललाई संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए।
सुरेन्द्र रविदासको पहलमा सञ्चालन भइरहेको उक्त सेन्टरले सीमित स्रोतसाधनका बाबजुद समुदायमा सकारात्मक सन्देश फैलाइरहेको छ। साथै, लक्ष्मिनिया गाउँपालिका–सिनुरजोडामा “सबैका लागि शिक्षा” अभियानअन्तर्गत सञ्चालनमा रहेको अम्बेडकर सामुदायिक सिकाइ केन्द्र र मिथिला बिहारी नगरपालिका–८, कचुरीस्थित सावित्री सामुदायिक सिकाइ केन्द्रमार्फत उनले निरन्तर सामाजिक कार्यलाई अगाडि बढाउने लक्ष्य लिएका छन्।
विश्लेषणात्मक रूपमा हेर्दा, यस्तो टियुशन सेन्टर केवल शिक्षण स्थल मात्र नभई सामाजिक न्यायको आधार निर्माण गर्ने महत्वपूर्ण प्रयासका रूपमा देखिएको छ। मधेश प्रदेशमा उल्लेख्य दलित जनसंख्या रहेको अवस्थामा उनीहरूको शिक्षा र आर्थिक सशक्तीकरण बिना समावेशी विकास सम्भव नहुने स्पष्ट छ।कार्यक्रमको सञ्चालन सामाजिक अभियन्ता सुरेन्द्र रविदासले गरेका थिए।