शहीदनगर नगरपालिकाको नयाँ भवनमा गृह प्रवेश, सेवा प्रवाह थप प्रभावकारी हुने अपेक्षा
1 महीना पहिले प्रकाशित
मोनु गुप्ता
जनकपुरधाम, वैशाख ९ गते
धनुषाको यदूकुहामा शहीदनगर नगरपालिकाले करिब चार करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न गरेको छ। भवन सञ्चालनअघि धार्मिक परम्पराअनुसार बुधबार कलश यात्रा, हवन तथा विशेष पूजापाठसहित गृह प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ।
स्थानीयवासी, जनप्रतिनिधि तथा युवा ,महिला लगायतका उल्लेख्य सहभागितामा निकालिएको कलश यात्राले यदूकुहा क्षेत्रको परिक्रमा गरेको थियो। त्यसपछि नवनिर्मित भवन परिसरमा वैदिक मन्त्र उच्चारणसहित पूजा तथा हवन सम्पन्न गरिएको आयोजकले जनाएको छ।
नगरप्रमुख दिनेश कुमार यादवका अनुसार नयाँ भवन सञ्चालनमा आएपछि नगरपालिकाको सेवा प्रवाह अझ व्यवस्थित, छिटोछरितो र सेवाग्राही मैत्री बन्ने अपेक्षा गरिएको छ। “अब सबै सेवा एउटै स्थानबाट उपलब्ध हुने भएकाले नागरिकलाई सहज हुनेछ,” उनले भने।
आधुनिक संरचनामा निर्माण गरिएको भवनमा नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतका कार्यकक्षसहित आर्थिक प्रशासन, स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, सूचना प्रविधि, कृषि, प्राविधिक, प्रशासन र योजना शाखाका छुट्टाछुट्टै कक्ष निर्माण गरिएको छ। साथै सभाहलको समेत व्यवस्था गरिएको छ।
अब नगरपालिकाका सम्पूर्ण प्रशासनिक सेवा एउटै भवनबाट सञ्चालन गरिने जनाइएको छ। नवनिर्मित भवनको औपचारिक उद्घाटन बिहीबार बिहान नगरप्रमुख यादवद्वारा गरिने कार्यक्रम रहेको छ।