नेपाल रेल्वे सेवालाई प्रभावकारी बनाउन मालवाहक सेवा र चुहावट नियन्त्रण आवश्यक : महानिर्देशक पोखरेल

1 महीना पहिले प्रकाशित

 

राष्ट्रिय आवाज 

जनकपुरधाम, वैशाख १३ गते

नेपालको एकमात्र रेल सेवा सस्तो, आरामदायी र भरपर्दो यात्राका लागि परिचित रहेकाले यसको सम्भावनालाई अझ प्रभावकारी ढंगले उपयोग गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। नेपाल रेल्वे सेवालाई केवल यात्रु सेवामा सीमित नराखी मालवाहक सेवासमेत विस्तार गर्न सके यसलाई नाफामूलक र दिगो बनाउन सकिने निष्कर्ष निकालिएको छ।

रेल विभागका महानिर्देशक हरीकुमार पोखरेल ले जनकपुरधाममा आयोजित एक अर्थपूर्ण छलफल कार्यक्रममा नेपाल रेल्वेको भविष्य, सम्भावना र सुधारका उपायबारे धारणा राख्दै रेल सेवालाई व्यावसायिक रूपमा अघि बढाउन मालवाहक सेवा विस्तार अपरिहार्य रहेको बताए।

 

उनले नेपाल रेल सेवा देशको गौरवको विषय भएको उल्लेख गर्दै यात्रु सेवासँगै मालसामान ढुवानी सेवा जोड्न सकिए आम्दानीको दायरा बढ्ने र सञ्चालन खर्च व्यवस्थापन गर्न सहज हुने बताए। “नेपाल रेल सेवा सस्तो, सहज र भरपर्दो यातायातको माध्यम हो, यसलाई नाफामूलक बनाउन अब मालवाहक सेवातर्फ पनि गम्भीर रूपमा सोच्नुपर्छ,” पोखरेलले भने।

पोखरेलका अनुसार रेल सेवालाई आर्थिक रूपमा सक्षम बनाउन आन्तरिक चुहावट नियन्त्रण, प्रशासनिक सुधार र अनावश्यक राजनीतिक हस्तक्षेप अन्त्य गर्नु आवश्यक छ। उनले रेल सेवामा अनावश्यक राजनीतिक नियुक्ति, संरचनागत कमजोरी तथा व्यवस्थापनमा देखिएका त्रुटि सुधार नगरेसम्म अपेक्षित उपलब्धि हासिल गर्न कठिन हुने स्पष्ट पारे।

नेपाल रेल्वे सेवाको प्रभावकारिता, आर्थिक सम्भावना र दीर्घकालीन व्यवस्थापनका विषयमा जनकपुर उद्योग वाणिज्य संघ, नागरिक समाज, व्यवसायी तथा अन्य सरोकारवालासँग अर्थपूर्ण छलफल भएको उनले जानकारी दिए। छलफलमा सहभागीहरूले रेल सेवा विस्तार, व्यवस्थापन सुधार, पारदर्शिता र व्यावसायिक सञ्चालनमा जोड दिएका थिए।

महानिर्देशक पोखरेलले नेपाल रेल्वेलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा मात्र नभई आर्थिक रूपमा आत्मनिर्भर सार्वजनिक सेवाका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले यात्रु सुविधामा सुधार, सेवा नियमितता, टिकट प्रणाली सुदृढीकरण र संस्थागत पारदर्शितामार्फत नेपाल रेललाई जनविश्वास जित्ने सार्वजनिक यातायातको नमुना बनाउन सकिने धारणा व्यक्त गरे।

छलफलमा जनकपुर धाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र कुमार भण्डारी, उद्योग उपाध्यक्ष गौतम कुमार साह, कोषाध्यक्ष परमेश्वर साह ,जनकपुर धाम उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष निर्मल चौधरी, प्रकाश चन्द्र साह, शिव शंकर साह हिरा, श्याम प्रसाद साह लगायतका उपस्थिति रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज  धनुषा, जेष्ठ १४ गते  धनौजी गाउँपालिका–२ स्थित राम जानकी मन्दिर परिसरमा युवाहरुलाई लक्षि..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १३ गते    संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) को सहयोग तथा आसमान नेपा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ १४ गते    सात वर्षदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको उद्योग प्रशास..

  बिनोद कुमार साह जनकपुरधाम, जेष्ठ १४ गते मधेस प्रदेशको धनुषा जिल्लास्थित तिरहुतिया गाछीमा पतंजली योग समिति धन..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम जेष्ठ १३गते    विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शहीद न..