जनकपुरधाममा २३४ सामुदायिक कुकुरको बन्ध्याकरण, रेविज खोप सहित शिविर सम्पन्न
1 महीना पहिले प्रकाशित
राष्ट्रिय आवाज
जनकपुरधाम, वैशाख १३ गते
छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकामा सञ्चालित सामुदायिक कुकुर बन्ध्याकरण तथा निःशुल्क रेविज खोप शिविर सम्पन्न भएको छ।
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तथा नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा वैशाख ११ गतेदेखि सुरु भएको शिविर आज वैशाख १३ गते आइतबार सम्पन्न भएको हो।
शिविरमा २३० कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएकोमा अपेक्षाभन्दा बढी २३४ सामुदायिक कुकुरको सफलतापूर्वक बन्ध्याकरण गरी रेविज विरुद्धको खोपसमेत लगाइएको पशुपंक्षी विकास शाखाले जनाएको छ।
कार्यक्रमबारे जानकारी दिँदै जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले छाडा कुकुरको बढ्दो समस्याले मानिस तथा पशुपन्छीमा जोखिम बढाउँदै लगेकाले यसलाई नियन्त्रण गर्न बन्ध्याकरण कार्यक्रम प्रभावकारी उपाय भएको बताए। उनले पशु स्वास्थ्य अधिकारसम्बन्धी कानुनी व्यवस्थाअनुसार कुकुर मार्न नमिल्ने भएकाले यस्तो मानवीय विधि अपनाइएको उल्लेख गर्दै कार्यक्रमलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे।
त्यस्तै, पशुपंक्षी विकास शाखाका डा. अमर कुमार साहले सामुदायिक कुकुरको संख्या घटाउन तथा रेविजको जोखिम न्यूनीकरण गर्न नियमित रूपमा यस्ता शिविर सञ्चालन गरिने जानकारी दिए। डा. साहको संयोजकत्वमा नगर क्षेत्रभित्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण (स्पेइङ तथा न्युटरिङ), रेविज विरुद्धको खोप तथा आवश्यक उपचार गरिएको हो।
नगर क्षेत्रमा रेविज जस्तो अति खतरनाक प्राणघातक रोग नियन्त्रण तथा न्यूनीकरण गर्ने उद्देश्यले २०८३ वैशाख ११ गतेदेखि १३ गतेसम्म तीन दिन विज्ञ पशु चिकित्सकको टोलीद्वारा उपमहानगरपालिकाको कृषि तथा पशुपंक्षी सेवा केन्द्र (भेटेरिनरी अस्पताल, तेतरिया) मा शिविर सञ्चालन गरिएको जनाइएको छ।
स्थानीयवासीका अनुसार छाडा कुकुरले बालबालिका लाई झम्टिने, रातिको समयमा आवतजावतमा असहजता सिर्जना गर्ने, साना पशुचौपायामा आक्रमण गर्ने तथा सडक दुर्घटनासमेत निम्त्याउने समस्या बढ्दै गएको छ।
कानुनी प्रावधानअनुसार कुकुर मार्न नपाइने भएकाले बन्ध्याकरण र रेविज खोप लाई दीर्घकालीन तथा प्रभावकारी समाधानका रूपमा लिइएको छ।