शहीदनगरमा ‘बिल्ड द बेसिक्स’ परियोजना बारे प्रारम्भिक समन्वय बैठक
25 दिन पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
धनुषा, वैशाख २१ गते सोमबार
शिक्षा तथा सामुदायिक विकास लाई प्रभावकारी बनाउने उद्देश्य सहित शहीदनगर नगरपालिकामा ‘बिल्ड द बेसिक्स’ परियोजनासम्बन्धी प्रारम्भिक समन्वय बैठक आज सोमबार सम्पन्न भएको छ।
शहीदनगर नगरपालिकाको सभाहलमा आयोजित बैठकको अध्यक्षता नगरप्रमुख दिनेश प्रसाद यादवले गर्नुभएको थियो भने उपमेयर सुनिता सिंह प्रमुख अतिथि तथा प्रमुख प्रशासकीय अधिकृत अनिल कुमार झा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
हेम्पेल फाउण्डेशनको आर्थिक सहयोग, स्ट्रेट चाइल्ड अफ नेपालको प्राविधिक सहयोग, शहीदनगर नगरपालिकाको सहकार्य तथा आसमान नेपालको सञ्चालनमा रहेको ‘बिल्ड द बेसिक्स’ परियोजनाअन्तर्गत परियोजना बारे विस्तृत प्रस्तुति तथा छलफल गरिएको थियो। परियोजनाले आधारभूत शिक्षा सुदृढीकरण, बालबालिकाको सिकाइ स्तर सुधार तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको आयोजकले जनाएको छ।
कार्यक्रममा आसमान नेपालका अनुगमन तथा मूल्यांकन अधिकृत मुकेश कुमार रजक, टीएआरएल प्रशिक्षक अशोक कुमार चौधरी, टीएआरएल मेन्टर रञ्जेश यादव, शिक्षा शाखा प्रमुख प्रदीप मुखिया लगायतको उपस्थिति रहेको थियो। जनता माध्यमिक विद्यालय कुम्भकरणका प्रधानाध्यापक प्रसाद गोहिवारले परियोजनासम्बन्धी प्रस्तुति दिनुभएको थियो।
नगरपालिका भित्रका ३० विद्यालयका प्रधानाध्यापक तथा विभिन्न वडाका वडाध्यक्षहरूको सहभागिता रहेको बैठकमा परियोजनाको उद्देश्य, कार्यान्वयन प्रक्रिया, लक्षित वर्ग तथा अपेक्षित उपलब्धिबारे विस्तृत छलफल गरिएको थियो।
बैठकमा बोल्दै नगरप्रमुख दिनेश प्रसाद यादवले शहीदनगरको शैक्षिक सुधारका लागि यस्ता परियोजना अत्यन्तै उपयोगी हुने बताउनुभयो। उहाँले स्थानीय तह, विद्यालय र समुदाय बीच समन्वय सुदृढ गर्दै परियोजना लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नगरपालिका पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। नगरप्रमुख यादवले बालबालिकाको आधारभूत सिकाइ सुधार नै समग्र शैक्षिक विकासको आधार भएकाले यस अभियान लाई सफल बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथि उपमेयर सुनिता सिंहले शिक्षा क्षेत्रको गुणस्तर सुधार बिना समृद्ध समाज निर्माण सम्भव नरहेको बताउँदै ‘बिल्ड द बेसिक्स’ परियोजनाले शहीदनगरको शैक्षिक अवस्था सुधारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले बालबालिकाको सिकाइ उपलब्धि वृद्धि, विद्यालयको शैक्षिक वातावरण सुधार तथा अभिभावक–समुदायको सहभागिता अभिवृद्धिमा परियोजनाले सकारात्मक प्रभाव पार्ने बताउनुभयो।
बैठकमा सहभागी वक्ताहरूले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै परियोजनाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखेका थिए। सहभागीहरूले स्थानीय तह र सरोकारवालाबीच सहकार्य सुदृढ गर्दै परियोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक समन्वय, सहकार्य र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।