दुर्व्यसन विरुद्ध जनकपुरमा प्रदेशस्तरीय अन्तरसंवाद
3 दिन पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, जेष्ठ १२ गते
बालबालिका तथा युवामाझ बढ्दो लागू पदार्थ दुर्व्यसन नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जनकपुरधाममा “लागू पदार्थ विरुद्धको प्रदेशस्तरीय परामर्श तथा अन्तरसंवाद कार्यक्रम” सम्पन्न भएको छ।
सेभ द चिल्ड्रेन र सबल नेपाल को आर्थिक सहयोगमा “बाल अधिकारका लागि नागरिक समाज सवलीकरण परियोजना” अन्तर्गत आयोजित कार्यक्रममा सरकारी निकाय, सुरक्षा निकाय, बालअधिकारकर्मी, सामाजिक अभियन्ता तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश नीति तथा योजना आयोग का माननीय नवल किशोर यादव ले लागू पदार्थ दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि प्रभावकारी नीति, व्यापक जनचेतना तथा सामूहिक अभियान आवश्यक रहेको बताए। उनले युवालाई कुलतबाट जोगाउन परिवार, विद्यालय, समुदाय तथा राज्यका निकायबीच समन्वय अपरिहार्य रहेको धारणा राखे।
विशिष्ट अतिथि खेलकुद तथा समाज कल्याण मन्त्रालयकी समाज कल्याण महाशाखा प्रमुख निर्मला मिश्र ले लागू पदार्थ प्रयोगले बालबालिका तथा युवाको भविष्यमा गम्भीर असर पारिरहेको बताउँदै रोकथामसँगै पुनःस्थापना कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
त्यसैगरी प्रहरी निरीक्षक सोनु कुमार साह ले लागू पदार्थ नियन्त्रणका लागि प्रहरी प्रशासनले निगरानी तथा जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको जानकारी दिए। खेलकुद तथा समाज कल्याण मन्त्रालयका शाखा अधिकृत विनोद भट्टराई ले युवालाई खेलकुद तथा सिर्जनात्मक गतिविधितर्फ आकर्षित गर्न आवश्यक रहेको बताए।
कार्यक्रमको सञ्चालन सबल नेपालका फिल्ड म्यानेजर नीर बहादुर आले ले गरेका थिए भने कार्यक्रम संयोजकका रूपमा सबल नेपाल कै अशोक कुमार साहको पनि उपस्थिति रहेको थियो।
यसैबीच, बाल क्लब सञ्जालले प्रदेश निति तथा याेजना आयोगको उपाध्यक्ष राज कुमार सिंह लाई ध्यानाकर्षण पत्र बुझाउँदै बालबालिकामाझ बढ्दो लागू पदार्थ दुव्र्यसन रोकथाम, बालअधिकार संरक्षण, सुरक्षित शैक्षिक वातावरण तथा युवामैत्री नीति निर्माणमा प्रदेश सरकारको विशेष पहल आवश्यक रहेको माग गरेको छ।
कार्यक्रममा सहभागीहरूले लागू पदार्थ दुव्र्यसन नियन्त्रणका लागि प्रदेशस्तरमा साझा रणनीति निर्माण, विद्यालयस्तरमा सचेतना अभियान विस्तार तथा बालमैत्री नीति कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।