बालिका तथा समावेशी शिक्षा सञ्जाल सुदृढीकरणका लागि प्रदेशस्तरीय क्षमता अभिवृद्धि कार्यशाला आयोजना

3 दिन पहिले प्रकाशित

 

माेनु गुप्ता 

जनकपुरधाम, जेष्ठ २६ गते 

 

बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य सीमान्तकृत समुदायका बालबालिकाको गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले बालिका तथा समावेशी शिक्षा सञ्जाल (जिआइईएन) का सदस्यहरूको क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यशाला आज मंगल बार जनकपुरधाममा सम्पन्न भएको छ।

 

युरोपेली संघको आर्थिक सहयोगमा पिपुल इन निड, एकाउन्टबिलिटी ल्याब नेपाल, नेपाल अपाङ्ग महिला संघ तथा राष्ट्रिय शिक्षा अभियान नेपालको साझेदारीमा सञ्चालित ‘एक्सेस’ परियोजनाअन्तर्गत शिक्षा तथा खेलकुद मन्त्रालय, मधेश प्रदेशको नेतृत्वमा कार्यशाला आयोजना गरिएको हो।

शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशका उपसचिव उज्ज्वल पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय गाउँपालिका महासंघकी उपाध्यक्ष तथा पटेर्वा सुगौली गाउँपालिकाकी उपाध्यक्ष ममता महतो, जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता साह तथा धोबीनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु देवीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रमको सञ्चालन प्रदेश जिआइईएन फोकल पर्सन दिलीप मुखियाले गरेका थिए।

कार्यशालामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी शिक्षाको अवधारणा, जिआइईएनको उद्देश्य, संरचना र कार्यप्रणाली, सदस्यहरूको भूमिका तथा जिम्मेवारी, स्थानीय शिक्षा योजना र बजेट प्रक्रियामा जिआइईएनको एकीकरण, विद्यालय–स्थानीय तह–प्रदेश तहबीचको समन्वय, स्रोत परिचालन तथा दिगोपनालगायत विषयमा विस्तृत छलफल गरिएको थियो। साथै जिआइईएनको प्रभावकारी कार्यान्वयन र विस्तारका लागि कार्ययोजना निर्माणसमेत गरिएको आयोजकले जनाएको छ।

नेपालमा, विशेषगरी मधेश प्रदेशमा, लैङ्गिक असमानता, सामाजिक बहिष्करण तथा संरचनागत अवरोधका कारण समावेशी र गुणस्तरीय शिक्षामा पहुँच चुनौतीपूर्ण रहँदै आएको सन्दर्भमा विद्यालय, स्थानीय तथा प्रदेश तहमा जिआइईएनलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताइएको छ। हाल जिआइईएन मापदण्ड २०८२ मधेश र सुदूरपश्चिम प्रदेशमा स्वीकृत भइसकेको तथा कर्णाली प्रदेशमा स्वीकृतिको प्रक्रियामा रहेको जानकारीसमेत दिइएको थियो।

कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी प्रशिक्षक अनिता कुमारी यादव, एकाउन्टबिलिटी ल्याब नेपालका कार्यक्रम अधिकृत अमरेश यादव, पिपुल इन निडकी प्रादेशिक संयोजक सुनिता बोहरा, प्रदेश जिआइईएन सदस्यहरू, साझेदार स्थानीय तहका उपप्रमुख तथा शिक्षा अधिकृतहरू, युवा परामर्श बोर्डका प्रतिनिधिहरू, विकास साझेदार संस्थाका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिसहित करिब ४० जनाको सहभागिता रहेको थियो।

कार्यशालाको सहजीकरण पिपुल इन निडकी जिआइईएन नेतृत्वकर्ता विना बलाल तथा प्रदेश जिआइईएन फोकल पर्सन दिलीप मुखियाले गरेका थिए।

कार्यशालाबाट सहभागीहरूले समावेशी तथा लैङ्गिक उत्तरदायी शिक्षासम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्नुका साथै जिआइईएनको संस्थागत विकास, स्थानीय स्वामित्व, प्रभावकारी समन्वय तथा दिगोपनाका लागि आवश्यक रणनीति र कार्ययोजना तय गरेका छन्। यसले बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य सीमान्तकृत समूहका बालबालिकाको शिक्षामा पहुँच, सहभागिता र सिकाइ उपलब्धि सुधार गर्न स्थानीय तथा प्रदेश सरकारको प्रयासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

    रेविता कुमारी  जनकपुरधाम, जेष्ठ २८ गते जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजन..

  मोनु गुप्ता  जनकपुरधाम, ज्येष्ठ २७ गते मधेश प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालय तथा ACCESS परियोजनाको ..

  माेनु गुप्ता  जनकपुरधाम, जेष्ठ २६ गते    बालिका, अपाङ्गता भएका बालबालिका तथा अन्य सीमान्तकृत समुदायका बा..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम, जेष्ठ २६ गते    मधेश आन्दोलनका शहीद परिवार, घाइते तथा आन्दोलनसँग सम्बन्धित स..

  दिपक श्रेष्ठ मण्डल जनकपुरधाम,जेष्ठ २४ गते    विश्व खाद्य स्वच्छता दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण निय..