ज्ञान गंगाको कथक–मैथिली नृत्य कार्यशाला समापन, सभामुख यादवद्वारा प्रशंसा
1 महीना पहिले प्रकाशित
राष्ट्रिय आवाज
जनकपुरधाम, जेष्ठ ३० गते
मधेश प्रदेश सभाका सभामुख राम अशिष यादव ले ज्ञान गंगा इन्टरनेसनल पब्लिक स्कुलले अध्यात्म, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि गरेको प्रयास जनकपुरधामकै लागि अनुकरणीय रहेको बताएका छन्।
विद्यालयद्वारा आयोजित १५ दिने कथक तथा मैथिली नृत्य कार्यशालाको समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले मैथिली भाषा, साहित्य, कला, संस्कृति र संगीतको संरक्षणमा विद्यालयले खेलेको भूमिकाको प्रशंसा गरे। जनकपुरधाम धार्मिक तथा सांस्कृतिक नगरी भएकाले यस्ता कार्यक्रमले स्थानीय पहिचानलाई थप सुदृढ बनाउने उनको भनाइ थियो।
उनले संस्कृत भाषालाई सबै भाषाको जननी मानिएझैँ कथक नृत्यलाई नृत्यकलाको आधारका रूपमा लिइने उल्लेख गर्दै कथकमा दक्ष व्यक्तिले अन्य नृत्य क्षेत्रमा पनि सहज रूपमा प्रगति गर्न सक्ने बताए।
सभामुख यादवले विद्यालयका संस्थापक पवन कुमार साह तथा कथक प्रशिक्षक हृदेव रायको प्रशंसा गर्दै विद्यार्थीहरूले प्रस्तुत गरेका कथक तथा मैथिली नृत्य प्रभावशाली रहेको बताए। उनले जनकपुरधामका अन्य विद्यालयले समेत यस्ता सिर्जनात्मक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए।
डिजिटल युगमा विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञान पर्याप्त नहुने उल्लेख गर्दै उनले बहुआयामिक सीप, प्रशिक्षण र नैतिक शिक्षाको आवश्यकता औंल्याए। अभिभावक तथा शिक्षकलाई विद्यार्थीको चरित्र निर्माण, संस्कार र सामाजिक उत्तरदायित्वबारे समेत ध्यान दिन आग्रह गरे।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका–४ का वडाध्यक्ष सुरेश झा, कथक गुरु हृदेव राय, एकेडेमिक कन्सल्टेन्ट जोन रोमियो जर्ज, मधेश प्याब्सनका पदाधिकारी, अभिभावक, शिक्षक, विद्यार्थी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूले जुम्बा, सोलो, सामा, ‘रामजी से पूछे’, गुरु वन्दना तथा विद्यालय गीतमा आधारित नृत्य प्रस्तुत गरेका थिए। कथक गुरु हृदेव रायले ‘डिमडिम डमरु बजाबे’ बोलको कथक नृत्य प्रस्तुत गरेका थिए।
वरिष्ठ शिक्षक विवेकानन्द झाले स्वागत मन्तव्य राखेको कार्यक्रमको अध्यक्षता विद्यालयका संस्थापक तथा प्रधानाध्यापक पवन कुमार साहले गरेका थिए भने सञ्चालन सरोजकुमार चौधरीले गरेका थिए।