एआईको प्रयोग मार्फत गुणस्तरीय शिक्षा प्रवर्द्धन बारे मधेश प्रदेशस्तरीय गोलमेच छलफल
29 दिन पहिले प्रकाशित
मोनु गुप्ता
जनकपुरधाम
शिक्षा क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (एआइ) को प्रयोग, अवसर तथा चुनौती बारे छलफल गर्न मधेश प्रदेशस्तरीय एकदिवसीय गोलमेच (राउन्डटेवल डिसकसस्न) कार्यक्रम जनकपुरधाममा सम्पन्न भएको छ।
नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालयको च.नं. २६६, मिति २०८३/०२/१८ को पत्रानुसार शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशको समन्वय तथा ब्रिटिस काउन्सिल नेपालको आयोजनामा “"शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई)"” विषयक प्रदेशस्तरीय गोलमेच छलफल कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको अध्यक्षता शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशका शिक्षा, विज्ञान तथा प्रविधि महाशाखा प्रमुख तथा उपसचिव उज्वल पोखरेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन शाखा अधिकृत दिलिप मुखियाले गर्नुभएको थियो।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ धनुषाका प्रतिनिधि, विभिन्न स्थानीय तहका शिक्षा शाखा प्रमुख तथा शिक्षा अधिकृत, सार्वजनिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, विकास साझेदार संस्थाका प्रतिनिधि तथा ब्रिटिस काउन्सिलको टोलीको सहभागिता रहेको थियो।
विशेष अतिथिका रूपमा एआई टोली प्रमुख सदस्य अमेरिकी डा. रोन्डा जेलेनी ग्रीन, डा. गंगाराम गौतम तथा डा. सुनील श्रेष्ठको उपस्थिति रहेको थियो।
कार्यक्रममा एआई नीति २०८२ अनुसार सार्वजनिक विद्यालयको आधारभूत तहमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगमार्फत शिक्षण–सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो। साथै, ८०० जना शिक्षकमा एआई प्रयोग सम्बन्धी गरिएको अनुसन्धानको प्रतिवेदन प्रस्तुत गरिएको थियो।
छलफलका क्रममा एआईको प्रयोगबाट शिक्षा क्षेत्रमा प्राप्त हुन सक्ने अवसर, लाभ तथा सम्भावित चुनौतीबारे सहभागीहरूले आ–आफ्ना धारणा व्यक्त गरेका थिए। लोहरपट्टी नगरपालिकाका दुई जना शिक्षकले विद्यालयमा एआई प्रयोगसम्बन्धी आफ्ना अनुभवसमेत साझा गरेका थिए।
कार्यक्रमको अन्तिम चरणमा सहभागीहरूलाई ६ वटा समूहमा विभाजन गरी एआईको प्रभावकारी प्रयोग, नीतिगत सुधार, शिक्षक क्षमता विकास तथा प्रविधिमैत्री शिक्षण सिकाइका विषयमा विस्तृत समूहगत छलफल गरिएको थियो।
बेलायती परिषदको यूके अन्तर्राष्ट्रिय कार्यक्रम अन्तर्गत आयोजित उक्त गोलमेच छलफलले मधेश प्रदेशमा एआईमा आधारित गुणस्तरीय शिक्षा प्रवर्द्धनका लागि नीति निर्माण तथा कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।