मधेश खेलकुद परिषद द्वारा पहिलोपटक राष्ट्रिय कुश्ती प्रतियोगिता भोलि बुधवार देखि हुदैँ
27 दिन पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम,असार २ गते
मधेश खेलकुद परिषदको आयोजनामा पहिलोपटक राष्ट्रियस्तरको कुश्ती प्रतियोगिता भोलि देखि जनकपुरधाममा सुरु हुँदैछ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता जनकपुरधाम उपमहानगरपालिका–७ स्थित जानकीनगरको पतञ्जली योग शिविरको सभा हलमा आयोजना गरिने परिषदले जनाएको छ।
प्रतियोगिताको उद्घाटन आज साँझ ५ बजे मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले गर्ने कार्यक्रम रहेको छ।
मधेश खेलकुद परिषदका सदस्य–सचिव शिवजी प्रसाद गुप्ताले कुश्ती नेपालको मौलिक तथा परम्परागत खेल भएकाले यसको संरक्षण, प्रवर्द्धन र विकासका लागि पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिएको बताए। उनका अनुसार प्रतियोगिताले युवापुस्तामा कुश्ती खेलप्रति आकर्षण बढाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा समेत टेवा पुर्याउने अपेक्षा गरिएको छ।
प्रतियोगितामा सातवटै प्रदेशका टोलीसँगै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका विभागीय टोली गरी कुल १० टोलीको सहभागिता रहनेछ। प्रत्येक टोलीबाट १० जना पुरुष खेलाडी, पाँच जना महिला खेलाडी तथा दुई जना प्रशिक्षक गरी जम्मा सत्रह जनासहभागी हुनेछन्।
प्रतियोगिताको तयारीस्वरूप जेठ ३० गतेदेखि असार २ गतेसम्म बन्द प्रशिक्षण (क्लोज्ड क्याम्प) सञ्चालन गरिएको थियो। प्रतियोगितामा उल्लेख्य संख्यामा खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी तथा खेलप्रेमीहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ।
मधेश प्रदेशमा पहिलोपटक राष्ट्रियस्तरको कुश्ती प्रतियोगिता आयोजना हुन लागेकाले यसले परम्परागत खेलको संरक्षण, खेल संस्कृतिको विकास, खेल पर्यटन प्रवर्द्धन तथा प्रदेशको खेलकुद गतिविधिलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ। परिषदले प्रतियोगितालाई भव्य, सभ्य र व्यवस्थित बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
सदस्य–सचिव गुप्ताका अनुसार परिषदको बैंक खाता वैशाख ४ गते सञ्चालनमा आएको थियो भने वैशाख २७ गते प्रदेश सरकारले खाता सञ्चालनको अनुमति दिएको थियो। बैशाख अठ्ठाईस गते देखि मधेष प्रदेश खेलकुद परिषदले निरन्तर रूपमा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ। हालसम्म प्रदेशका विभिन्न जिल्लामा भलिबल, भारोत्तोलन, उसु, कराँते, कबड्डी, महिला भलिबल तथा शहीद कप लगायतका प्रतियोगिता सम्पन्न भइसकेका छन्।
परिषदले चालु आर्थिक वर्षभित्र प्रदेशस्तरमा १९ वटा र राष्ट्रियस्तरमा चार वटा खेल प्रतियोगिता आयोजना गर्ने लक्ष्य लिएको जनाएको छ। राष्ट्रिय कुश्ती प्रतियोगिता सोही योजना अन्तर्गतको महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।