कहाँ पुगे मोरङ छिरेका भनिएका रोहिंग्या ?

4 वर्ष पहिले प्रकाशित

१८ वैशाख, विराटनगर । म्यानमारको सेनाबाट लखेटिएपछि बंगलादेशमा बस्दै आएका रोहिंग्या शरणार्थीको एउटा समूह झापा र मोरङ छिरेको छ । खुला सीमाको फाइदा उठाउँदै एजेन्ट मार्फत मोरङमा ६ र झापामा १०–१२ जनाको समूह छिरेको सुरक्षा सम्बद्ध अधिकारीहरु बताउँछन् ।

भारतबाट लुकिपिछी झापा र मोरङ छिरेकाहरुको प्रशासनले खोजी गरिरहेको छ । तर उनीहरु भेटिएका छैनन् । स्रोतका अनुसार झापाको काँकडभिट्टाबाट छिरेको समूह झापाको कमल गाउँपालिकासम्म पुगेको देखिन्छ । त्यसयता भने भेटिएका छैनन् ।

६ जनाको दुई परिवार विराटनगर छिरेको थियो । चोर बाटो हुँदै भित्रिएको जानकारी पाए पनि विराटनगर आएका ६ जनाको परिवार सम्पर्कमा छैनन् । झापा र मोरङबाट दुई वटा समूह कोरोना महामारीको दोस्रो लहर सुरु भएकै अवस्थामा नेपाल भित्रिएको थियो ।

बंगलादेशमा कष्टकर रुपमा गुजारा गरिरहेका शरणार्थी सुरक्षित बसोबासको खोजीमा नेपाल छिरेको स्रोतको दाबी छ । गृह मन्त्रालय स्रोतका अनुसार रोहिंग्या मुस्लिमहरु झापाको काँकडभिट्टा र मोरङको सीमावर्ती नाका हुँदै नेपाल छिरेका हुन् ।

मन्त्रालयले नेपाल छिरेका रोहिंग्या शरणार्थीको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयले वैशाख ६ गते झापा मोरङ र काठमाडौं प्रशासनलाई निर्देशन दिएको हो । काठमाडौंमा रोहिग्याको दुई वटा शिविर छ ।

भारतबाट चोर बाटो हुँदै नेपाल प्रवेश गरेका करिब पाँच सय रोहिंग्या काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको राममन्दिर क्षेत्रमा क्याम्प बनाएर बसेका छन् । राममन्दिर क्षेत्रस्थित रोहिंग्या आप्रवासी क्याम्पमा बस्नेहरुले नै उनीहरुलाई नेपाल भित्र्याएको स्रोतको दाबी छ । स्रोतका अनुसार उनीहरुले बंगलादेश र भारतभन्दा तुलनात्मक रुपमा नेपालमा जीवन सहज हुने भन्दै प्रतिव्यक्ति ४० हजार रुपैयाँसम्म लिएर नाका कटाएका छन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले रोहिंग्या विराटनगर प्रवेश गरेको सूचना आएपनि प्रवेश गरेको कुनै प्रमाण नभेटिएको बताए । सूचना आएपछि खोजी गरेको बताउँदै उनले विराटनगर प्रवेश गरेको भेटिए नियन्त्रणमा लिइने बताए । उनले सीमा क्षेत्रमा निगरानी पनि बढाइएको बताए ।

म्यानमार सेनाले आक्रमण गर्न थालेपछि तीन वर्ष अघि थातथलो छाडेर भागेका रोहिग्याको ठूलो समूह बंगलादेशमा छ । हिंसात्मक गतिविधिका कारण मुलुक छाड्न बाध्य भएको म्यानमारको अल्पसंख्यक रोहिंग्या समुदाय बंगलादेशबाट विभिन्न देशमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

  राष्ट्रिय आवाज, साउन ७ गते   रौतहट,मौलापुर नगरपालिकामा सडक स्तरोन्नतिको काम अगाडि बढिरहेको छ। यही क्रममा नग..

इन्द्र भुषण यादब  जनकपुरधाम, साउन ६ गते    महिलाहरूले आफ्नो हातमा हरिया पहेँला चुरा, मेहेन्दी र त्यही अनुसार ..

  इन्द्र भुषण यादब जनकपुरधाम, साउन २ गते    प्रचण्ड गर्मी र खडेरी बाट पहिले नै समस्यामा पारेका धनुषाका किसानह..

  राष्ट्रिय आवाज सप्तरी, असार २९ गते  सप्तरीको बोदे बरसाईनमा संघीय हिन्दू गणतंत्र स्थापनाका विषयमा आयोजित वि..

  राष्ट्रिय आवाज  जनकपुरधाम, असार २९ गते  तराईका विभिन्न जिल्लाहरू— वीरगंज महानगर, जनकपुर उपमहानगरपालिका, ..