जनकपुरमा तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
1 घन्टा पहिले प्रकाशित
रेविता कुमारी
राष्ट्रिय आवाज, जनकपुरधाम, असोज २८ गते
तथ्याङ्क सङ्कलन तथा व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध सुदृढ बनाउने उद्देश्यले जनकपुरधाममा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रम आज बुधबार सम्पन्न भएको छ।
नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालय, काठमाडौं र तथ्याङ्क समन्वय कार्यालय, धनुषाको आयोजनामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश नीति तथा योजना आयोगका नवलकिशोर यादव प्रमुख अतिथि तथा शिवनारायण महतो अध्यक्षका रूपमा सहभागी थिए। कार्यक्रममा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) मधेश प्रदेशका प्रमुख डा. नरेन्द्रकुमार मिश्र लगायत विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा तथ्याङ्क सम्बन्धी कानुन, सर्वेक्षण अनुमति प्रणालीको कार्यान्वयन तथा सङ्घ, प्रदेश र स्थानीय तहबीच तथ्याङ्क सङ्कलन, व्यवस्थापन र आदानप्रदानमा प्रभावकारी समन्वय कायम गर्ने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि यादवले नीति निर्माण तथा विकास योजनालाई प्रभावकारी बनाउन विश्वसनीय र तथ्यमा आधारित सूचना आवश्यक रहेको बताए। तथ्याङ्कको सही प्रयोगले विकासका प्राथमिकता निर्धारण गर्न, उपलब्ध स्रोतसाधनको उचित परिचालन गर्न तथा योजनाको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने उनको भनाइ थियो।
उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच तथ्याङ्क आदानप्रदानको प्रक्रियालाई व्यवस्थित बनाउँदै सङ्कलित तथ्याङ्कको गुणस्तर, विश्वसनीयता र उपयोगिता बढाउनुपर्नेमा जोड दिए। तथ्याङ्कमा एकरूपता र निकायबीच प्रभावकारी समन्वय कायम हुन सके विकास योजना निर्माण तथा कार्यान्वयन थप परिणाममुखी बन्ने उनको धारणा थियो।
कार्यक्रमका अध्यक्ष शिवनारायण महतोले तथ्याङ्क सम्बन्धी निकायबीच सहकार्य र समन्वय विस्तार गर्न यस्ता अन्तरक्रिया महत्त्वपूर्ण हुने बताए। उनले नीति तथा योजना निर्माणका लागि आवश्यक तथ्याङ्क समयमै उपलब्ध गराउने, त्यसको विश्वसनीयता कायम गर्ने र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उल्लेख गरे।
अन्तरक्रियामा सर्वेक्षण सञ्चालनका लागि आवश्यक अनुमति प्रक्रिया, तथ्याङ्क सम्बन्धी कानुनी व्यवस्थाको पालना तथा तीनै तहका सरकारबीच तथ्याङ्क व्यवस्थापनमा देखिएका चुनौती र तिनको समाधानका उपायबारे विचार आदानप्रदान गरिएको थियो।
कार्यक्रमले तथ्याङ्क सङ्कलन तथा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित, विश्वसनीय र प्रभावकारी बनाउँदै तथ्याङ्कमा आधारित नीति निर्माण तथा विकास योजनालाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
rastriyaawaj@gamil.com