धनौजीमा २३३ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण
1 घन्टा पहिले प्रकाशित
दिपक श्रेष्ठ मण्डल
राष्ट्रिय आवाज, धनुषा, असोज २९ गते
धनुषाको धनौजी गाउँपालिका–३ अन्तर्गत साविक झोझी कटैया गाविसका वडा नं. १ देखि ९ सम्मका २३३ जना स्थानीयवासीलाई एक कार्यक्रकाबीच आज बिहिबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ। नापी कार्यालय धनुषाको समन्वयमा आयोजित कार्यक्रममा स्थानीयवासीलाई प्रमाण पुर्जा वितरण गरिएको हो।
कार्यक्रमको सभापतित्व नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले गरेका थिए भने प्रमुख अतिथिका रूपमा धनौजी गाउँपालिकाका अध्यक्ष राजकुमार साह सहभागी थिए। कार्यक्रममा गाउँपालिका–३ का वडाध्यक्ष रामनारायण यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा नापी प्रमुख उमेश कुमारले सरकारी सेवा लिन आउने सेवाग्राहीलाई अनावश्यक दुःख र झन्झट दिन नहुने बताए। नागरिकका काम बढीमा दुई दिनभित्र सम्पन्न गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले बिचौलियाको प्रलोभनमा नपर्न सेवाग्राहीलाई आग्रह गरे।
‘सरकारी सेवा सहज, सरल, पारदर्शी र नागरिक मैत्री हुनुपर्छ,’ उनले भने। सरकारी कार्यालयबाट सेवा लिँदा अनावश्यक खर्च र झन्झट बेहोर्नुपर्ने अवस्था अन्त्य गर्न कर्मचारीहरू जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
नापी प्रमुख कुमारले धनुषा जिल्लाका सरकारी जग्गाको विवरण समेटेर पुस्तक प्रकाशन गर्ने योजना पनि सार्वजनिक गरे। यसअघि ललितपुर जिल्लामा कार्यालय प्रमुखका रूपमा कार्यरत रहँदा सरकारी जग्गा सम्बन्धी विवरण समेटिएको पुस्तक प्रकाशन गरेको अनुभव सुनाउँदै उनले धनुषामा पनि त्यस्तै पुस्तक प्रकाशन गर्ने योजना रहेको जानकारी दिए।
उक्त पुस्तकले जिल्लाभित्रका सरकारी जग्गाको अभिलेख व्यवस्थित गर्न, जग्गाको पहिचान गर्न तथा सरकारी सम्पत्तिको संरक्षण र व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार साहले पनि सरकारी सेवा लिन आउने नागरिकलाई अनावश्यक दुःख नदिन र बिचौलिया बाट सचेत रहन आग्रह गरे। स्थानीयवासी तथा जनप्रतिनिधिहरूले सरकारी सेवा पारदर्शी र सहज बनाउनुपर्नेमा जोड दिएका थिए।
२३३ जना स्थानीयवासीले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेसँगै आफ्नो जग्गाको स्वामित्व सम्बन्धी आधिकारिक कागजात प्राप्त गर्न सहज भएको छ। प्रमाणपुर्जा वितरणले स्थानीयवासीको जग्गासम्बन्धी अभिलेख व्यवस्थित बनाउन र जग्गाको स्वामित्व पुष्टि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।